राजन रावत
हुम्ला, कात्तिक २ गते । नाम्खा गाउँपालिका–६ को न्यालु लेकमा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पाँच हजार मिटर अग्लो सडकमा जमेको हिउँ एक्साभेटरबाट पन्छाउने कार्य सम्पन्न भएपछि यातायात सुचारु भएको हो ।
सडक खुलेसँगै यात्रामा रहेका बेला अलपत्र परेका आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो । सिमकोटबाट गएको ११ दिनपछि फिर्ता हुन पाएको भन्दै लाप्चा पुगेर व्रतबन्ध गर्नुभएका सिमकोट गाउँपालिका–५ का पवन रोकायाले बताउनुभयो । न्यालुमा जमेको हिउँ फालेर सडक सुचारु भएपछि आउन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँहरूको टोली लाप्चातर्फ जाँदै गर्दा गत असोज २३ र २४ गते हिमपात भएको थियो । त्यसयता पाँच हजार मिटर उचाइको न्यालु सडक अवरुद्ध हुँदा उहाँहरू अलपत्र पर्नुभएको थियो ।
सडक अवरुद्ध भएपछि सात जना भारतीय, चार जना अन्य देशका पर्यटक, चार जना चितवन, एक जना मुगु, हुम्लाका आठ जना गरी २४ जना पर्यटक र पाँच जना चालक सदरमुकाम सिमकोट आइपुगेको जानकारी उहाँले दिनुभयो । यो बिचमा धेरै समस्या भोगेर तुम्लिङमा बास बस्नु परेको बताउँदै तर पनि सबै पर्यटक सकुसल सिमकोट फिर्ता हुन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँहरू आठ जना हिमपातमै लाप्चा पुगेर फर्कनुभएको थियो । बाह्य पर्यटक भने लिमी उपत्यका घुम्न गएका थिए । भारतीय पर्यटक भने ताक्चीबाट हिल्सा हुँदै सिमकोट फिर्ता भएका छन् । असोज २५ गते एक्साभेटर पठाएर न्यालु लेकको सडकमा जमेको हिउँ फालेपछि सडक सुचारु गरिएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीले बताउनुभयो ।
झन्डै तीन किलोमिटर सडकमा जमेको चार फिट हिउँ पाल्न एक्साभेटरलाई तीन दिन लागेको थियो । सडकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गरी ताक्चीमा फसेका पर्यटक फिर्ता आउन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । न्यालुमा यस वर्ष असोज महिनामै हिमपात भएर सडक अवरुद्ध भएको हो ।