टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक २ गते । गुल्मीमा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने तम्घास–सिमलटारी सडक मर्मत गर्न सुरु गरिएको छ । यो खण्डको विभिन्न घुम्तीमा सडक भत्किएर दुर्घटनाको ठुलो जोखिम रहेको थियो । गुल्मी, प्युठान र बाग्लुङ्गका विभिन्न ठाउँका सवारी साधन आउ–जाउ गर्ने मुख्य सडकनै बिग्रेर जन–गुनासो धेरै आएपछि सडक मर्मतमा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले सक्रियता देखाउनु भएको थियो । कोइराला र सडक कार्यालयका इन्जिनियरसहितको टोलीले स्थलगत अनुगमन गरेपछि सडक मर्मत सुरु भएको हो ।
सडकमा रहेका खाल्डा पुर्ने, ढुङ्गा माटोले सतह मिलाउने र आवश्यक स्थानमा पर्खाल निर्माणको काम भइरहेको मदन भण्डारी आयोजना कार्यालयले जनाएको छ । यो सडक कालोपत्रे भएको करिब सात वर्ष भए ।
मदन भण्डारी अयोजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जियिर हुमानाथ पौडेललेकाअनुसार तम्घासदेखि सिमलटारीसम्मको २९ किलोमिटर क्षेत्रमा सडक मर्मत गर्न ८१ लाख ४३ हजार रुपियाँको लागतमा एम.एच पोर्टिनस्टार सप्लायर्स तम्घासले कार्यालयसँग सम्झौता गरेको छ । सम्झौता अनुसार एक महिनाभित्र मर्मतको काम सम्पन्न गर्नुपर्ने छ ।
मुख्य सडककै बिच भाग र घुम्तीमा रहेका ज्यानमारा खाल्डा भएकाले मर्मतले ठुलो राहत भएको इस्मा गाउँपालिका– दोहलीका सवारी चालक दामोदर बस्नेतले बताउनुभयो ।