लन्डन, कात्तिक २ गते । इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले शनिबार नटिङ्घम फरेस्टलार्ई ३–० ले हराएको छ । यस नतिजासँगै चेल्सी आठ खेलबाट १४ अङ्क हासिल गरी चौथो स्थानमा उक्लेको छ । सङघर्षरत् नटिङ्घम फरेस्ट मात्र पाँच अङ्क बनाएर १७ औँ स्थानमा छ । गत महिना एनन्गे पोस्टेकोग्लु प्रशिक्षकमा नियुक्त भएपछि नटिङ्घम आठ खेलमा जितविहीन छ ।
चेल्सीका लागि १९ वर्षीय जोस आचेम्पोङ, पेड्रो नेटो र रिस जेम्सले गोल गर्नुभयो । नौ वर्षको उमेर चेल्सी एकेडेमीमा भर्ना भएका आचेम्पोङको यो सिनियर टिमका लागि पहिलो गोल भएको छ । सो खेलको ८७ औँ मिनेटमा चेल्सीका मालो गुस्टोले दोहोरो पहेँलो कार्डसहित मैदान छोड्नुभएको थियो ।
यसबिच चेल्सीका प्लेमेकर कोल पाल्मरको थप छ हप्तासम्म मैदानमा उत्रन नसक्ने जनाइएको छ । इङ्ग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी पाल्मर गत महिना म्यान्चेस्टर युनाइटेडसँगको खेलमा घाइते हुनुभएको थियो । त्यसपछि उहाँ मैदानमा उत्रन सक्नुभएको छैन ।
यसै गरी स्पेनी ला लिगामा इस्पानियोलले ओभिएडोलाई २–० ले हराएको छ । बार्सिलोना सहरको क्लब इस्पानियोलले अन्तिम समयमा दुई गोल गरी जित हासिल गरी आफूलाई अङ्क तालिकाको पाँचौँ स्थानमा उभ्याएको छ । इस्पानियालका लागि किके गार्सिया र पेरे मिलाले गोल गर्नुभयो । इस्पानियोलले सन् १९९५ पछि आभिएडोमा जित हात पारेको हो । एपी