• २ कात्तिक २०८२, आइतबार

नेपालको महिला फुटबल इरान र भारतसँगको खेलको तयारीमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २ गते । नेपालको महिला फुटबल टिम अहिले इरान र भारतसँगको अन्तर्राष्ट्रिय मैत्री फुटबलका लागि तयारीमा व्यस्त रहेको छ । नेपालले कात्तिक ७ मा इरान र कात्तिक १० मा भारतसँग मैत्री खेल खेल्दै छ । यी दुई खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार राति नेपालको २३ सदस्यीय टिमको चयन गरेको छ ।

प्रशिक्षक नवीन न्यौपानेले छानेको नेपालको राष्ट्रिय महिला फुटबल टिममा सावित्री भण्डारी साम्बाको कप्तान पद कायम छ । अन्य खेलाडीमा अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाईं, मीना देउवा र निशा थोकर हुनुहुन्छ ।

प्रीति राई, प्रतीक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता रानामगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषानाथ पनि टिममा पर्नुभएको छ । सो टिममा अनुभवी मिडफिल्डर अनिता केसी पर्न सक्नुभएन । गीता राना पनि चोटका कारण टिममा हुनुहुन्न । पछिल्लो एसियन कप छनोटमा खेलेकी विमला चौधरी र चन्द्रा भण्डारीले यसपालि टिममा स्थान बनाउन सक्नुभएन । नेपालले एसियन कप छनोटपछि पहिलो पटक खेल्दै छ ।

स्ट्राइकरद्वय पूर्णिमा र मीना पहिलो पटक राष्ट्रिय टिममा पर्नुभएको हो । यी दुवैले साफ यु–२० महिला च्याम्पियनसिप र एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालका महिला राष्ट्रिय यु–२० का लागि शानदार प्रदर्शन गर्नुभएको थियो । साफ यु–२० महिला च्याम्पियनसिपमा पूर्णिमा सर्वाधिक गोलकर्ता पनि बन्नुभएको थियो । गत वर्ष साफ च्याम्पियनसिपमा हिराकुमारी र दीपा घाइते हुनुभएको थियो । सजनी पनि साफ च्याम्पियनसिप पनि राष्ट्रिय टिममा पर्नुभएको हो ।

नेपालले फिफा विन्डो अन्तर्गत इरान र भारतसँग खेल्न लागेको हो । दुवै विपक्षी फिपा वरीयतामा नेपालभन्दा माथि छ । फिफा वरीयता अनुसार भारत ६३, इरान ७० र नेपाल ८९ औँ स्थानमा रहेका छन् । त्यसैले पनि इरान र भारतसँगको खेल नेपाली महिला फुटबलको क्षमता जाँच्ने खेल हुने छ । यी दुवै खेल भारतको सिलोङमा हुने छ ।