गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १ गते । दूरसञ्चार सेवाप्रदायक एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माइकल फोले नियुक्त हुनुभएको छ । कम्पनीको व्यवस्थापनले आगामी कात्तिक १५ गतेदेखि लागु हुने गरी उहाँलाई नयाँ सिइओ नियुक्त गरेको हो । एनसेलमा आबद्ध हुनुअघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
त्यसअघि सात वटा फ्राङ्कोफोन अफ्रिकी बजारको सञ्चालनको जिम्मेवारीमा रहेर उहाँले काम गर्नुभएको थियो । त्यसअघि उहाँले टेलिनोर पाकिस्तान (टिपी) का सिइओका रूपमा काम गरिसक्नुभएको एनसेलले जनाएको छ ।
नियुक्तिपछि फोलेले कम्पनीका सेवा सुदृढ बनाउन र आगामी पुस्तालाई सशक्त बनाउन व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । एनसेलको सञ्चालक समितिले फोलेको नेतृत्वले एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन सहयोग पुग्ने जनाएको छ । म्याकगिल विश्वविद्यालयका स्नातक र ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्सका एक्सिक्युटिभ सर्टिफिकेटस प्राप्त फोले क्यानडा र केन्या दुवै देशका नागरिक हुनुहुन्छ ।