• १ कात्तिक २०८२, शनिबार

अस्ताए प्रथम आरोहण दल सदस्य

blog

आङ फुर्वा शेर्पा (कान्छा शेर्पा)

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य आङ फुर्वा शेर्पा (कान्छा शेर्पा) को बिहीबार निधन भएपछि एक इतिहासको अन्त्य भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले शेर्पाको निधनमा दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताउनुभएको छ । शेर्पाको बुढानीलकण्ठ नगरपालिका–११, कपनस्थित निवासमा ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

प्रधानमन्त्री कार्कीले शेर्पाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उहाँको निधनले ऐतिहासिक आरोहणका प्रत्यक्ष साक्षी मात्र नभई एक जीवित धरोहर गुमाएको बताउनुभएको छ । शेर्पाले सगरमाथा आरोहणको पहिलो आरोही दलको सदस्य भएर मानव जातिकै एउटा विशेष उपलब्धि मानिएको घटनाको अनुभव पछिल्ला पुस्तालाई साटिरहनुभएको प्रधानमन्त्रीले जनाउनुभएको छ ।

सन् १९३७ मार्च २२ तारिखमा सोलुखम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, नाम्चेमा जन्मनुभएका शेर्पा पहिलो सगरमाथा आरोहण दलको अन्तिम जीवित व्यक्ति हुनुहुन्थ्यो । शेर्पाले सन् १९५३ मे २९ मा भएको विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणमा सहभागी हुनुभएको थियो । उहाँ सगरमाथा आरोहण गर्न ब्रिटिस आरोहण दलमा भरियाका रूपमा सहभागी हुनुभएको थियो । आरोहणका लागि सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै दार्जिलिङबाटै काठमाडौँ आई सगरमाथातर्फ लाग्नुभएको उहाँका छोरा छिरिङ फेन्जो शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुवा ऐतिहासिक ब्रिटिस आरोहण दललाई शिखरसम्म पुग्ने बाटो पहिल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आरोहण दलको अन्तिम सदस्य हुनुहुन्थ्यो । पहिलो आरोहणका क्रममा उहाँ हिलारी र तेन्जिङसँगै २७ हजार फिटसम्म उचाइ (साउथकोल) सम्म पुगेर बाटो पहिल्याउनसमेत सहयोग गर्नुभएको थियो ।”

स्वर्गीय शेर्पाले २० वर्षको उमेरमा सगरमाथा आरोहण दलमा सहभागी भएपछि छ पटक सगरमाथा आरोहण दलमा सहभागी भए पनि चुचुरोमा भने नटेकेको उहाँका छोराले जानकारी दिनुभयो ।  त्यस्तै नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुरग्याल्जे शेर्पाले कान्छा शेर्पाको निधनले पर्वतारोहण क्षेत्रको एक इतिहास गुमाएको बताउनुभयो । 

पहिलो सगरमाथा आरोहण दलमा २० शेर्पासहित न्युजिल्यान्ड र इङ्ग्ल्यान्डका गरी ३५ जनाको समूह रहेको थियो । उक्त आरोहण अभियानमा शेर्पालाई दिनको आठ रुपियाँ ज्याला पाउने गरी आरोहण दलमा सहभागी गराइएको थियो । अप्ठ्यारो बाटो छिचोल्दै सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेको खबर नेपालीले पाँच दिनपछि मात्रै पाएका थिए । सन् १९५३ जुन २ मा बेलायती महारानी एलिजावेथ द्वितीयको राज्याभिषेकका अवसरमा त्यो खबर बेलायतबाट सार्वजनिक गरिएको थियो । नेपालमा जेठ २१ गते (जुन ३) गोरखापत्रमा प्राथमिकतासाथ समाचार छापिएको थियो । तीन महिना लगाएर पूरा भएको आरोहण खबरले विश्वभर ठुलो चर्चासँगै नेपालले सगरमाथाको देश भनेर ख्याति पाएको थियो । उक्त आरोहण दलका मुख्य पात्र हिलारीको सन् २००८ जनवरी ११ र नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । शेर्पाको अन्त्येष्टि सोमबार गरिने छ । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।