काठमाडौँ, असोज ३१ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन, डिजिटल रुपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धन र युवाको संलग्नताबारे जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिहरुसँग सुझाव लिएको छ।
सञ्चारमन्त्री जगदीश खरेलको अग्रसरतामा मन्त्रालयले पहिलो पटक जेनजी युवाका प्राविधिक क्षेत्रका प्रतिनिधिसँग छलफल गरी सुझाव लिएको हो।
सञ्चार मन्त्रालयले शुक्रबार आयोजना गरेको डिजिटल रुपान्तरण सम्बन्धी अन्तरक्रियामामा जेनजीका सूचना प्रविधि विज्ञको सूचना प्रविधिको क्षेत्रमा युवापुस्तालाई समेटेर मन्त्रालयले आगामी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।
छलफलमा सञ्चारमन्त्री खरेलले सूचना प्रविधिको अधिकतम प्रयोग गरी सुशासन प्रवर्द्धन र डिजिटल रुपान्तरणलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँले सुशासनका लागि डिजिटल रुपान्तरणसहित डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्द्धनमा युवापुस्ताको सुझाव लिएर आगामी रणनीति र कार्ययोजना बनाउन पहल गर्ने दोहोर्याउनुभयो।
सञ्चारमन्त्री खरेलले जेनजी युवाको आन्दोलनका क्रममा उठेको महत्त्वपूर्ण विषय सुशासन र आवश्यक प्रविधि सम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रविधि क्षेत्रमा सम्वद्ध युवाबाट आएको सुुझाव महत्त्वपूर्ण हुने बताउनुभयो।
उहाँले भन्नुभयो,“सञ्चार मन्त्रालयले बनाउने हरेक नीति र योजनामा जेनजी पुस्ताको सुझावलाई समेटेर राम्रो ‘रोडम्याप’ बनाउनेछौँ, मन्त्रालयले यस्ता छलफललाई आगामी दिनमा पनि निरन्तरता दिनेछ।”
सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा गठन भएको वर्तमान नागरिक सरकारले जेनजीको भावना बमोजिम निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवर्द्धनको कामलाई प्राथमिकता दिएर क्षतिभएका भौतिक संरचनाको पुनःनिर्माणको कार्यलाई अगाडि बढाउने बताउनुभयो।
मन्त्री खरेलले विपद्को समयमा प्रविधिको प्रयोगमार्फत गरिएको पूर्व सूचना प्रणालीले महत्त्वपूर्ण काम गरेको र जनधनको क्षति न्युनीकरण भएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताउनुुभयो।
सञ्चारमन्त्री खरेलले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेशको टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गरी सेवा गुणस्तर बनाउने उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले प्रविधिको प्रयोग र विकासका लागि सञ्चारमन्त्रालयले विभिन्न योजना अगाडि बढाइरहेको सन्दर्भमा युवाबाट आएका महत्त्वपूर्ण सुझावलाई समटेर अगाडि बढ्ने बताउनुभयो।
छलफलमा जेनजी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिहरुहरुले भ्रष्टाचररहित समाज निर्माण र सुुशासनको प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारको प्रभावकारी प्रयोगमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन्।
प्रविधिको प्रयोग र विस्तारमा जोड दिनुपर्ने, देशका सबै भूभागमा मोवाइल नेटवर्कको प्रभावकारी विस्तार गर्नुपर्ने, इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्ने, डिजिटल अर्थतन्त्रका लागि नेपाल टेलिकमको सेवा र प्यान नम्बरलाई व्यवस्थित बनाउनुपर्ने, प्रभावकारी डेटा सेन्टर निर्माण गर्नुपर्ने, हेलो सरकार जस्ता टुुटेका कार्यक्रम सुुरुगरी आम नागरिकसँग जोडिनु पर्ने उनीहरुको सुझाव छ।
जेनजी प्रतिनिधि गौरव पाण्डेले देशका दूरदराजसम्म टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गर्न आग्रह गर्नुभयो। जेनजी अभियान्ता युजनराज भण्डारीले जेनजी अयिभानता र विज्ञबाट आएको सुझावलाई ग्रहण गरी सरकारले मुलुकमा सुशासन प्रवर्द्धन र निर्वाचन सम्पन्न गर्ने दिशामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
अर्का प्रतिनिधि सुदीप लामिछानेले युवापुस्ताको भावनालाई समेटेर सरकारले डिजिटल रुपान्तरण र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिनुपर्ने औंल्याउनुभयो। अभियान्ता आयुससकाजी डङ्गोलले प्रविधिको प्रयोगमार्फत् सरकारी सेवालाई सरल र सहज बनाइनुपर्नेमा जोड दिनुभयो।
यस्तै आशिस रिमाल, निकेश कर्माचार्यलगायतले सरकारले गरेका काम कारबाहीलाई जनतामामु लैजानुपर्नेमा जोड दिनुभयो।