• ३१ असोज २०८२, शुक्रबार

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

फागुन २१ को निर्वाचन सफलतापूर्वक सम्पन्न हुने राष्ट्रपतिको विश्वास

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी । तस्बिर : निर्वाचन आयोग

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ३१ गते । निर्वाचन आयोग, नेपालले आर्थिक वर्ष २०८१–८२ का मुख्य काम, कारबाही र उपलब्धिहरू समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पेश गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गर्नुभयो।

सो अवसरमा राष्ट्रपतिले आर्थिक वर्ष २०८१–८२ मा आयोगले सम्पादन गरेका कार्यको प्रशंसा गर्दै आयोगलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी २०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।


प्रतिवेदन पेश गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले सो अवधिमा मतदाता नामावली दर्ता तथा अद्यावधिक, स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन, मतदाता शिक्षा र तालिम सञ्चालन, राजनीतिक दल दर्ता र अद्यावधिक जस्ता कार्यहरू सम्पन्न गरेको जानकारी दिनुभयो।

उहाँले आयोगको कानूनी, संस्थागत तथा प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो। 

साथै, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले तयारी अघि बढाएको र यस कार्यमा राजनीतिक दल तथा सरोकारवालाहरूको सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू तथा राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेको उपस्थिति रहेको थियो ।