संयुक्त राष्ट्रसङ्घ, असोज ३१ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर अहिले पनि ६ करोड ७३ लाख मानिस हरेक रात भोकै सुत्न बाध्य भइरहेको बताउनुभएको छ । त्यस्तै, करोडौँ मानिस भोलिको खाना पाउने नपाउने अन्योलमा रहेका छन् ।
अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसको अवसरमा दिइएको सन्देशमा महासचिव गुटेरेसले भन्नुभयो, “८० वर्षअघि संसारका मुलुक भोकमरी अन्त्य गर्न एकजुट भएका थिए र त्यसयता खाद्य सुरक्षामा ठूलो प्रगति भएको छ । तर पछिल्ला सङ्कटले यदि हामीले सावधानी नअपनाएसम्म यी उपलब्धि टिकाउ हुन नसक्ने देखाएको छ ।”
उहाँले भन्नुभयो,“हालका दशकहरूमा मोटोपनको समस्या, जलवायु परिवर्तन र द्वन्द्वग्रस्त क्षेत्रमा भोकलाई हतियारको रूपमा प्रयोग गर्ने जस्ता नयाँ चुनौती देखा परेका छन् । यो अत्यन्त लज्जास्पद यथार्थ हो रआज पनि युद्ध र द्वन्द्वको पीडामा परेका मानिसहरूलाई भोकै राखिएको छ, र कतै कतै दुर्भिक्षको स्थितिसमेत देखिएको छ ।”
महासचिवले थप्नुभयो,“भोकमरी अन्त्य गर्न हामीसँग आवश्यक स्रोत, सीप र प्रविधि छन् । अब हामीलाई चाहिएको कुरा एकता र सहकार्य हो ।” गुटेरेसले विश्व समुदायलाई फेरि एक पटक एकजुट भई यस्तो खाद्य प्रणाली निर्माण गर्न आह्वान गर्नुभयो,जसले मानिसलाई पोषण मात्र प्रदान गरोस्, तर पृथ्वीको रक्षा पनि गरोस् ।
भोकमरी विरुद्धको इतिहास र पछिल्लो चिन्ता
दोस्रो विश्वयुद्धको विनाशपछि, सन् १९४५ को अक्टोबर १६ मा राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) स्थापना गरिएको थियो । त्यसैको सम्झनामा सन् १९७९ देखि हरेक वर्ष अक्टोबर १६ लाई विश्व खाद्य दिवसको रूपमा मनाइँदै आएको हो ।
यस दिवसले सबैका लागि स्वस्थ, विविधतायुक्त, सस्तो र सुरक्षित खाना सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे चेतना फैलाउने उद्देश्य राख्छ । यता, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, खाद्य सहायता बजेटमा भारी कटौतीका कारण एक करोड ३७ लाखभन्दा बढी व्यक्ति गम्भीर भोकमरीको स्थितिमा पुग्न सक्ने चेतावनी दिएको छ ।
सन् २०२५ मा डब्लुएफपीको बजेट ४० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ, जसअनुसार कार्यक्रमको बजेट ६ अर्ब ४० करोड अमेरिकी डलरमा सीमित हुने अनुमान गरिएको छ । रासस/सिन्ह्वा