• ३१ असोज २०८२, शुक्रबार

बाढीको जोखिममा सचेत पार्न कृत्रिम अभ्यास

blog

कृत्रिम घट्ना अभ्यासका क्रममा स्थानीयलाई जोगिने तरिका सिकाउँदै। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज ३१ गते। बाँकेको राप्ती नदी छेउका विभिन्न स्थानमा बाढी पूर्व चेतावनी सूचनामा आधारित शीघ्र स्थान्तरण कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा जिल्लाको बाढी विपद्को उच्च जोखिममा रहेको डुडवा गाउँपालिका–१ को कृषि चौफेरी, बोर्डरचौफेरी, राप्ती सोनारी गाउँपालिका–६ को खल्ला टेपरी र वडा नम्बर ७ देउपुरा एवं पिप्रहवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर ६ भोजपुर र गंगापुरमा उक्त अभ्यास सम्पन्न भएको हो।

अविरल वर्षाका कारण राप्ती नदी तथा अन्य खोला नालामा बाढी आएर हुन सक्ने सम्भावित विपद्को पूर्वतयारी गर्न समुदायलाई सजग गराई पूर्वचेतावनी सूचनामा आधारित शीघ्र स्थान्तरणका लागि कृत्रिम घटना अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनाले बताउनुभयो।

उहाँले जोखिममा रहेका ती क्षेत्रमा कुनै पनि विपद् आएमा उनीहरुले प्रथम उद्धारको कार्य आफै गर्न सचेत र सक्षम भएको बताउनुभयो।

जिल्लाका विभिन्न जोखिमपूर्ण वडाहरुमा गरिएका कृत्रिम घट्ना अभ्यासका कार्यक्रमहरुमा जनप्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारण, रेडक्रस सोसाइटीका पदाधिकारी र कर्मचारी तथा सुरक्षाकर्मीको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले जनाएको छ।