• २७ असोज २०८२, सोमबार

अस्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबी दर बढ्यो

blog

सिड्नी, असोज २७ गते । अस्ट्रेलियामा गरिबीमा जीवनयापन गर्ने जनसङ्ख्या सन् २०२४-२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो ।

अस्ट्रेलियन सामाजिक सेवा परिषद् (एसिओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अस्ट्रेलियामा गरिबी सन् २०२५ : सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१-२३ मा गरिबी दर १२.४ प्रतिशत थियो, जुन अब उल्लेखनीय रूपमा बढेर १४.२ प्रतिशत पुगेको छ ।

न्यु साउथ वेल्स विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता युविस्थी नायडूका अनुसार, पछिल्ला दुई वर्षमा घरभाडामा अत्यधिक वृद्धि भएकोले खासगरी न्यून आम्दानी भएका व्यक्तिहरूको जीवनमा गम्भीर असर परेको छ । प्रतिवेदन अनुसार, सन् २०२१ अगस्तदेखि २०२३ अगस्तसम्मको अवधिमा ब्रिस्बेनमा घरभाडा ४१ प्रतिशत, सिड्नीमा ४० प्रतिशत र मेलबोर्नमा ३४ प्रतिशतले बढेको छ ।

बालबालिकाको अवस्थासमेत चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३-२४ मा अस्ट्रेलियामा प्रत्येक ६ बालबालिकामध्ये एक जना गरिबीको चपेटामा छन्, जसको सङ्ख्या ७ लाख ५७ हजार पुग्छ । एसीओएसएसकी प्रमुख कार्यकारी अधिकृत क्यासान्ड्रा गोल्डीले सरकारको हालसम्मका प्रयास स्वागतयोग्य भए पनि ती अपर्याप्त रहेको बताउँदै थप ठोस कदम चाल्न आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले अत्यन्तै न्यून रहेका आम्दानी सहायता भत्ता बढाउनुपर्ने, गरिबी न्यूनीकरणका लागि स्पष्ट लक्ष्य तोक्नुपर्ने, सामाजिक आवासको व्यवस्था विस्तार गर्नुपर्ने र सबैलाई रोजगारी सुनिश्चित गर्ने नीति ल्याउनुपर्छ । साथै, गरिबी घटाउने कार्यमा सबैलाई जिम्मेवार बनाउने गरी समयबद्ध लक्ष्य निर्धारण गरिनुपर्छ ।” रासस/सिन्ह्वा