• २७ असोज २०८२, सोमबार

एन्फा असन्तुष्ट पक्षद्वारा अध्यक्ष नेम्वाङको राजीनामा माग

blog

पत्रकार सम्मेलनमा धारणा राख्दै एन्फा असन्तुष्ट पदाधिकारी ।

काठमाडौँ, असोज २७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का असन्तुष्ट पदाधिकारीले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग गरेका छन् । 

काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी एन्फा वरिष्ट उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजङ्ग शाही, सदस्यद्वय रविनचन्द ठकुरी र रुपेश अधिकारीले एन्फा नेतृत्व फुटबलको विकासमा भन्दा आर्थिक अपारदर्शिता र विदेश भ्रमणमा लिप्त रहेको आरोप लगाउनुभयो । 

असन्तुष्ट पदाधिकारीले मैदानमा फुटबल नहुँदा खेलाडी पलायन भएको, नेपालमा गरिनुपर्ने खेलहरू विदेशमा खेल्न बाध्य भएको, ‘ए’ डिभिजन लिग समयमा गर्न नसकेको, फुटबलले पाउने प्रायोजन शुन्य अवस्थामा पुगेको, नेतृत्व फुटबल गतिविधि छाडेर एन्फाको चुनावी गतिविधिमा लागेको र प्रतिनिधिलाई प्रभावित बनाउन विदेश लैजान व्यस्त रहेको आरोप पनि लगाएका छन् ।

उनीहरूले फुटबल नहुँदा समर्थकले एन्फा घेर्न थालेको र विस्तारै पदाधिकारीमाथि हातपात हुनसक्ने भन्दै चिन्ता समेत व्यक्त गरे । आइतबार मात्र फुटबल समर्थकले मैदानमा फुटबल हुनुपर्ने माग राख्दै एन्फा मुख्यालयमा पुगेर नाराबाजी गरेका थिए ।

यस्तो अवस्थामा समस्या समाधान नगरी एन्फा अध्यक्ष नेम्वाङ सोमबार नै साउदी अरेबियाको भ्रमणमा गएको पनि वरिष्ठ उपाध्यक्ष खड्काले बताउनुभयो ।

उहाँले यदि फुटबल गर्ने इच्छा छैन भने राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह पनि गर्नुभयो । खड्काले फुटबललाई लयमा ल्याउन एन्फाको अर्ली इलेक्सन हुनुपर्ने माग समेत राख्नुभयो ।