रवीन्द्र उप्रेती
बर्दिबास, असोज २७ गते । बर्दीबास ३ स्थित गौरीडाँडामा खुला भलिबल प्रतियोगिताको प्रथम संस्करण यही असोज २९ गते देखि हुने भएको छ ।
आयोजक गौरीबास युथ क्लवलले असोज २९ देखि कार्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको अन्तिम तयारीका लागि स्थानीय युवाहरु जुटेका छन् ।
तिहार तथा छठ पर्वको अवसर पारेर गौरीबास खुलामञ्च परिसरमा आयोजना हुने प्रतियोगितामा दुई विभागीयसहित आठ टिमले नकआउटका आधारमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा सशस्त्र प्रहरीको मध्य पृतना बाहिनी बर्दिबास माइस्थान, इलाका प्रहरी कार्यालय बर्दीबास, सिन्धुली, सर्लाहीको लालबन्दी, धनुषाको महेन्द्रनगर तथा महोत्तरीको रामनगर गौशाला, भंगाहा सीतापुर र बर्दिबास हातीलेटका टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन खेल सिन्धुली मल्टिपल क्याम्पस र इलाका प्रहरी बर्दीबासबीच हुनेछ । खेलमा निष्पक्षताका लागि आयोजक गौरीवास युथ क्लवले भने प्रतियोगितामा भाग नलिने जनाइएको छ ।
आयोजक गौरीबास युथ क्लबका अध्यक्ष सुबाेध कट्टेलका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफीसहित नगद एक लाख १ हजार, उप विजेताले नगद ५१ हजार रुपियाँसहित ट्रफी पाउने व्यवस्था गरिएको छ ।
यसका साथै प्रत्येक खेलको अन्त्यमा ‘म्यान अफ द म्याच’ र प्रतियोगिताको अन्त्यमा ‘म्यान अफ द सिरिज’ का लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक दीपक रायमाझीले जानाउनुभयो ।