यदुप्रसाद भट्ट
मनाङ, असोज २७ गते । मनाङको नासोँ गाउँपालिका ६ र ७ वडा जोड्ने दुधखोलामा ९ वर्षपछि मोटरेबल पुल निर्माण भई सञ्चालनमा आएको छ । नासोँको गाउँपालिकाको थोंचे र तिल्चे जाने दुध खोलामाथि पक्की पुल बन्दा यहाँका बालबालिकालाई विद्यालय पुग्न सहज भएको छ ।
साथै पालिका तथा वडा कार्यालयमा सेवा लिन जाने सेवाग्राही र विशेषगरी बिरामी भएर स्वास्थ्य चौकीसम्म जानेहरूलाई दुध खोलामाथि पुल बन्दा राहत भएको छ । सो पुल निर्माण गर्न २०७३ असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले संयुक्त ठेक्का सम्झौता गरेका थिए । २०७४ मङ्सिर २३ गतेसम्म पुल निर्माण गरिसक्नुपर्नेमा ३० प्रतिशत हाराहारीमात्र काम सकाएर बेपत्ता भएका ठेकेदार ९ वर्षपछि सम्पर्कमा आएर पुल निर्माण सम्पन्न भएको छ ।
साविक जिल्ला विकास समितिले चार करोड एक लाखमा बोलपत्र आह्वान गरेकामा उक्त कम्पनीले पटकपटक म्याद थप गर्दा पनि पुल निर्माण गरेको थिएन । सङ्घीयता लागु भएपछि पुलको स्वामित्व पूर्वाधार विकास कार्यालयमा सरेको थियो । सम्झौता अनुसारको मितिमा पुल नबनेपछि २०७७ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी पहिलोपटक म्याद थप भयो । जिल्ला प्रशासन कार्यालयले त्यसअघि पटक–पटक बैठक राखेर पुल बनाउन निर्देशन दियो । थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि पुनः २०७८ चैत मसान्तसम्ममा सक्ने गरी दोस्रोपटक म्याद थप भएको थियो ।
त्यसपछि म्याद थप नभएको र ठेकेदारले दुईतिर पिलर मात्र ठड्याएर करिब दुई करोड निकासा लगिसकेका थिए ।
अन्तिमपटक क्याराभानका अध्यक्ष चन्द्र थकालीले गत असारमा पुल बनाइसक्ने प्रतिबद्धता गर्नुभएको थियो । सोहीअनुसार लगातार रूपमा काम गर्दा यही असार मसान्तभित्र पुल निर्माण सकेको र दसैँलगत्तै सञ्चालनमा आएको क्याराभानका अध्यक्ष चन्द्र थकालीले बताउनुभयो ।
पुल निर्माण भएपछि नासों गाउँपालिकाका विद्यार्थी जोखिम मोलेर फड्के तर्ने बाध्यताबाट मुक्ति पाएका छन् । पुल निर्माण भएपछि नासोँ–५ मा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयमा अध्ययनरत करिब तिन सय विद्यार्थीलाई राहत भएको छ । विद्यार्थीलाई मात्रै नभएर वडा नं. ६ थोचे र वडा नं. ७ तिल्चेका स्थानीयलाई सुविधा पुगेको छ ।
नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले दुध खोलामाथि बनेको पुलले समग्र मनाङी तथा पर्यटक र स्थानीयलाई राहत मिलेको बताउनुभयो । उहाँले दसैँलगत्तै पुल सञ्चालनमा आएको बताउनुभयो । प्रकाशज्योति माविकी विद्यार्थी सुस्मिता गुरुङले दुधखोलामा बनेको पुल सञ्चालनले आफूहरूलाई राहत भएको बताउनुभएको छ । सुस्मिता त केवल एक प्रतिनिधि पात्र मात्रै हो । यहाँ सुस्मिताजस्तै सयौं विद्यार्थीलाई पुल सञ्चालनले राहत मिलेको छ । मनाङ पर्यटकीय क्षेत्र भएकाले काङ्ला पास जाने पर्यटकलाई समेत सुविधा पुगेको छ ।