• २७ असोज २०८२, सोमबार

ऊर्जा सुविधा केन्द्र लक्षित रूसी आक्रमणपछि युक्रेनका धेरै क्षेत्रमा बिजुली कटौती : मन्त्रालय

blog

युक्रेन, असोज २७ गते । ऊर्जा सुविधा केन्द्रित पछिल्लो रूसी हवाई आक्रमणपछि युक्रेनले सोमबार कम्तीमा सात क्षेत्रमा ऊर्जा खपतमा प्रतिबन्ध लगाएको बताएको छ । ऊर्जा मन्त्रालयले सामाजिक सञ्जालमार्फत रूसी आक्रमणका कारण युक्रेनको एकीकृत ऊर्जा प्रणालीमा उत्पन्न जटिल अवस्थाका कारण सात क्षेत्रमा आपतकालीन विद्युत् कटौती लागू गरिएको जनाएको हो ।

मुख्यतया देशको मध्य र पूर्वका क्षेत्रमा ऊर्जा कटौतीका लागि सूचीबद्ध गर्दै डोनेट्स्कलगायतका क्षेत्रमा अधिकारीले ग्रिड लक्षित आक्रमण छोड्न आग्रह गरेका छन् । रूसी सेनाले आंशिकरूपमा कब्जा गरेको र युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्रको घर रहेको दक्षिणी जापोरिझिया क्षेत्रमा औद्योगिक उपभोक्ता मात्र प्रतिबन्धको अधीनमा रहने मन्त्रालयले जनाएको छ । 

किरोभोग्राड क्षेत्रमा आंशिक प्रतिबन्ध मात्र लगाइने मन्त्रालयले जनाएको छ । क्रेमलिनले हालैका हप्तामा युक्रेनी ऊर्जा सुविधा र यसको रेल नेटवर्कमा हवाई आक्रमण बढाई  अघिल्लो तीन वर्षको जाडोदेखि लक्षित बमबारी अभियान दोहोर्‍याउँदै लाखौंलाई अत्यधिक चिसो सहन बाध्य पारेको जनाइएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आफ्नो पूर्ण आक्रमणपछि, मस्कोले प्रायः यस्तो आक्रमणपछि युक्रेनी सेनालाई समर्थन गर्ने ऊर्जा सुविधालाई लक्षित गरेको दाबी गर्दछ । आक्रमणले ऊर्जा अधिकारीलाई ग्रिडमा दबाब कम गर्न नागरिकका लागि निर्धारित बिजुली कटौती गर्न बाध्य पारेको छ । रासस/एएफपी