• २७ असोज २०८२, सोमबार

अस्पताल निर्माण अलपत्र

blog

बागलुङ समाचारदाता 

बागलुङ, असोज २७ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पताल आर्थिक अभावमा अलपत्र भएको छ । निसीखोला गाउँपालिका–३ र ४ को सिमानामा अस्पताल भवन निर्माण भइरहेको हो । 

स्थानीयबाट जग्गा उपलब्ध भएपछि गाउँपालिकाले १० करोड ९९ लाख रुपियाँको लागतमा निर्माणाधीन भवन बजेट अभावमा पूरा नभएको हो । १० शय्याको अस्पताल बनाउन नसक्दा पालिकाका बिरामी पाल्पा र बुटवल जान बाध्य छन् । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले भन्नुभयो, “झट्ट हेर्दा काम सकिए जस्तो भए पनि धेरै बाँकी छ । भवन त राम्रो बनेको छ तर बजेट नहुँदा पूरा भएको छैन ।” भवन निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाइ छ । 

हिमदुङ एसी आइएस संयुक्त निर्माण कम्पनीले भवन बनाउने ठेक्का लिएको हो । गाउँपालिकाले नौ रोपनी जग्गा उपलब्ध गराएपछि सङ्घीय सरकारले भवन निर्माणका लागि बजेट निकासा गरिदिएको थियो । ठेकेदारले अघिल्लो वर्ष गरेको कामको डेढ करोडभन्दा बढी भुक्तानी पाउन बाँकी छ । जसका कारण यो वर्ष थप काम हुनै नपाएको प्रमुख प्रशासकीय अधिकृत जीवन पुनले बताउनुभयो । सङघीय सरकारमा पहल भए पनि बजेट नआएसम्म काम हुनेमा ढुक्क नभएको पुनको भनाइ छ । 

अस्पताल भवन पूरा भए पनि उपकरण खरिद, नियमित अस्पताल सञ्चालन तथा दरबन्दीका लागि बजेट छैन । निसीखोलाको पनि आन्तरिक आय एक करोडभन्दा कम छ । पहिलो चरणमा अस्पताल सञ्चालन गर्नु परेमा तीन करोडभन्दा बढी खर्च निस्कने अनुमान छ । निसीखोलामा अहिले पनि होम डेलिभरी भेटिन्छ । भएका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालन छैन । सुरक्षित सुत्केरी हुनु परेमा कतिपय महिला पाल्पा पुगेर डेरा बस्ने गर्छन् ।