हुम्ला समाचारदाता
हुम्ला, असोज २७ गते । जेनजी समूहको आन्दोलनमा निस्केका हुम्लाका एक जना युवक हालसम्म बेपत्ता छन् । जिल्ला नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ ।
२४ वर्षका लामा नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्षअगाडिदेखि काठमाडौँको तीनचुलीमा भतिजोसँगै कोठा लिएर बस्दै आउनुभएको थियो तर आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उहाँका बुवा टैछिरिङ लामाले बताउनुभयो । बुवा लामाका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता हुनुभएको थियो । होटेलमा काम गर्ने लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठा आएर आन्दोलनमा निस्कनु भएको थियो । बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केको र त्यसपछि भने बेपत्ता हुनुभएको हो ।
जेनजी आन्दोलनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन बुवा लामाले आग्रह गर्नुभएको छ । उहाँले अब सास पाउने सम्भावना छैन लास भए पनि पाउन पाए हुने बताउनुभयो । उहाँका दुई छोरामध्ये बेपत्ता भएको कान्छा छोरा हुन् ।
हुम्लाको युवा जेनजी आन्दोलनमा गएर बेपत्ता भएपछि नामख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अङ्गबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि सहयोगसमेत माग्नुभएको छ । बेपत्ता लामाका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई पनि जानकारी गराइएको छ ।