• २७ असोज २०८२, सोमबार

इतिहास र संस्कृति संरक्षणमा लिम्बू समुदाय

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, असोज २७ गते । नेपालको पूर्व क्षेत्रमा बसोबास गर्दै आएको लिम्बू समुदायले करिब दुई वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएको छ । आफ्नो संस्कृतिको संरक्षण गर्न र इतिहासलाई जीवित राख्न लिम्बू समुदायले निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएको हो ।

इतिहास र संस्कृति संरक्षण गर्नकै लागि अहिले पनि निसान प्रदर्शन गर्दै आएको श्रीकम्पु र श्रीजङ्गी निसान संरक्षण समितिका सचिव महेन्द्र सेलिङ लिम्बूले जानकारी दिनुभयो । पुरानो परम्परा अनुसार प्रत्येक वर्ष बडादसैँको महानवमीका दिन निसान प्रदर्शन गर्ने गरिएको समितिका सचिव सेलिङले बताउनुभयो । उहाँका अनुसार विसं १८९५ देखि ऐतिहासिक निसान निरन्तर प्रदर्शन गरिँदै आएको छ । विसं १८९५ देखि कम्पु नामको निसान र १९१२ देखि श्रीजङ्गी गरी दुई वटा निसान प्रदर्शन गरिँदै आएको श्रीकम्पु र श्रीजङ्गी निसान संरक्षण समितिले जनाएको छ । समितिका सचिव सेलिङले उक्त दुई निसान लिम्बू समुदायको संस्कृति र इतिहासको प्रतीक हो भन्नुभयो ।

ऐतिहासिक निसान त्यस बेला १६९ थान प्राचीन हातहतियार र अन्य सामग्रीसहित ५२ सुब्बाले बुझेको इतिहास रहेको समितिका सचिव सेलिङ बताउनुहुन्छ । त्यस बेला सुब्बाहरूले निसान बुझेपछि उनीहरूले नै आलोपालो गर्दै निसान प्रदर्शनसहित संरक्षण गर्दै आएका थिए । समय बित्दै जाँदा परिवर्तित परिस्थितिसँगै त्यस बेलाका सुब्बा परिवारबाट निसानको संरक्षण हुँदै आएको र २०७५ सालपछिदेखि श्रीकम्पु र श्रीजङ्गी निसान संरक्षण समिति गठन गरी निसानको संरक्षण गर्न थालिएको हो ।

यता थर्पुको कालिका भगवती मन्दिरपरिसरमा प्रदर्शन गरिने निसान दर्शन तथा दृश्यावलोन गर्न पाँचथरसहित ताप्लेजुङ, तेह्रथुम, इलामलगायतका जिल्लाबाट सर्वसाधारणको जमघट हुने गरेको बताइएको छ । लिम्बूलगायत सबै समुदायका नागरिकले निसानको दर्शन साथै दृश्यालोकन गर्ने गर्दछन् । निसानको दर्शन गर्नाले दुर्गा भवानीको शक्ति प्राप्त हुने र सोचेको, चिताएको मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।