• २७ असोज २०८२, सोमबार

सूचना हेरफेर र झुट्टा प्रकाशन

प्रमुख प्रशासकीय अधिकृत र विज्ञापन कम्पनीका सञ्चालकविरुद्ध भ्रष्टाचारको मुद्दा

blog

गोरखापत्र अनलाइन 

काठमाडौँ, असोज २६ गते । रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ प्रालिका सञ्चालक अजितकुमार कर्णविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँहरूविरुद्ध आइतबार विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार, विद्यालय भवन निर्माणसम्बन्धी ठेक्काको बोलपत्र आह्वान तथा बोलपत्र स्वीकृत गर्ने आशयको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि ती सूचना लुकाइ–छिपाइ गरिएको पाइएको हो।

अनुसन्धानबाट उनीहरूले आपसी मिलेमतोका साथ माधव नारायण नगरपालिकाको ठेक्कासम्बन्धी सूचना सिटी पोस्ट राष्ट्रिय दैनिकजस्तो देखिने सीमित प्रतिमा मात्र छापेर झुट्टा कागजात पेस गरी दुई लाख ५७ हजार नौ सय सत्तरी रुपियाँ भुक्तानी लिएको प्रमाणित भएको आयोगले जनाएको छ।

प्रेस काउन्सिल नेपालको अभिलेखमा सो मितिका सूचना नदेखिएको पुष्टि भएपछि आयोगले सो कार्यलाई सार्वजनिक रकम हिनामिना गर्ने नियतको भ्रष्टाचार कार्यका रूपमा ठहर गरेको हो।

आरोपपत्रअनुसार,  

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ र लेखापाल रामबलम प्रसाद यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१० (ङ) बमोजिम बिगो रकम बराबरको जरिवाना र कैद सजाय माग गरिएको छ।

रौतहट एडभटाइजिङ प्रालिका सञ्चालक अजित कुमार कर्णमाथि सोही ऐनको दफा २२ बमोजिम मुख्य कसूरदार सरह सजाय तथा बिगो रकम असुल गर्न माग दाबी गरिएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, “ठेक्का प्रक्रियामा सूचना लुकाउने र झुट्टा विवरणका आधारमा भुक्तानी लिनु गम्भीर अनियमितता हो। आयोगले यसप्रति शून्य सहनशीलता अपनाएको छ।”

आयोगले सार्वजनिक निकायका ठेक्का प्रक्रियामा हुने सूचना हेरफेर र झुट्टा प्रकाशनजस्ता गतिविधि रोक्न नियमित अनुगमन र अनुसन्धानलाई अझ सशक्त बनाउने जनाएको छ।