• २१ मङ्सिर २०८२, आइतबार

दाउन्नेमा धुलोले सास्ती (फोटो फिचर)

blog

बोमलाल गिरी

नवलपुर, असोज २५ गते । वर्षा सकिएसँगै पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा धुलोले सताउन थालेको छ । हल्का पानी पर्दा पनि हिलाम्बे भएर बाटो नै बन्द हुने यो सडक खण्डमा पानी पर्न रोकिएपछि धुलोले सताउने गरेको चालक तथा यात्रुले गुनासो गरेका छन् । 

सार्वजनिक बसमा नारायणघाटबाट बुटबल जाँदै गरेका रामप्रसाद श्रेष्ठले झ्यालको शिशा लगाउँदा गर्मी हुने र झ्याल खोल्दा धुलोले हैरान पारेको बताउनुभयो । सडक विस्तारको काम नसकिँदासम्म चिनियाँ ठेकेदार कम्पनीले धुलो उठ्ने ठाउँमा पानी हाल्नु पर्ने भए पनि केही बजार क्षेत्रबाहेक अन्यत्र नहालेको श्रेष्ठले बताउनुभयो ।

तर ठेकेदार कम्पनीले भने पानी हालेपनि चर्को घाममा उतिबेलै सुक्ने भएकाले समस्या हुने गरेको बताएको छ । ‘‘बाक्लो पानी हाल्दा फेरी गाडी चिप्लिने समस्या हुन्छ, हल्का हाल्दा सुकिहाल्छ,’’ चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झाले भन्नुभयो।

दाउन्नेको पूर्वी खण्डको नौ किमी सडक अझै पनि पुरै कच्ची छ भने दुई स्थानमा सडक एकतर्फी सञ्चालन भएको छ । पूर्वी खण्डमा गरिएको ढलान पनि ठाउँठाउँमा भत्कन शुरू गरिसकेको छ । आरुणखोला र दुम्किबास बजार क्षेत्र अझै पनि पिच गरिएको छैन । दशै अघि नै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेसँगको छलफलमा निर्माण सकिएका पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता ठेकेदार कम्पनीले जनाए पछि अझै पुरा भएको छैन । 

ठेकेदार कम्पनीले भने अहिले पनि कल्भर्ट निर्माण, नाली बनाउने, ढलानको तयारी गर्ने लगायत काम भइरहेको जनाएको छ । चाडपर्वको मौसम भएकाले सडकमा गाडीको चाप भने नभएको ट्राफिक प्रहरीको भनाइ छ ।

साउन ८ गते चौथो पटक म्याद थपिदासम्म झण्डै ७० प्रतिशतको भौतिक प्रगति भएको थियो । यो सडकको पूर्वीखण्ड गैंडाकोटदेखि दाउन्नेसम्म २०८३ साउन ७ गते र पश्चिम खण्ड दाउन्नेदेखि बुटवलसम्मको २०८३ साउन ५ सम्म म्याद थपिएको छ । पछिल्लो २ महिनामा झण्डै दुई प्रतिशत मात्र भौतिक प्रगति भएको सडक आयोजनाले जनाएको छ ।