नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो । नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो । नेपालको समाज आज अभूतपूर्व सङ्कटको घेरामा छ । यो सङ्कट राजनीति, अर्थतन्त्र वा वातावरणको मात्र होइन, यो नैतिकताको गहिरो क्षयको सङ्कट हो । जसको कारण नेपाली झन्डा काँधमा बेरेर सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत राष्ट्रका महत्वपूर्ण अड्डा अदालत अग्नि दहनले खरानी बने । नेपाल जस्तो विविधतापूर्ण र आध्यात्मिक मुलुकमा आज नैतिक पतनको त्रासदी चरममा पुगेको देखिन्छ । यो सङ्कट केवल राजनीतिक, आर्थिक वा सांस्कृतिक होइन । यो मानवीय मूल्य र नैतिक चरित्रको क्षयको सङ्कट हो ।
नयाँ सन्दर्भमा नैतिकताको पुनव्र्याख्या आवश्यक छ । नैतिकतालाई आआफ्नो अनुकूलतामा परिभाषित गरिन्छ नैतिकता स्खलनको आरोप नखेप्ने मान्छे कमै छन् । इमानदार हुनु भनेको कमजोर बन्नु झैँ भएको छ । निर्धन हुनुलाई नालायक सम्झिन थालिएको छ । धन प्राप्तिको मार्गमा बहस छैन तर धनलाई इज्जत गरिन्छ । त्यसको धन इज्जतको हुन्छ जसले नीति र निष्ठा नियम र कानुनको मातहत स्वाभाविक धन आर्जन गरेको होस् ।
कुनै पनि मानक बन्ने क्रममा त्यहाँ लामो समय अभ्यास भएको धर्म, परम्परा, संस्कृति, विज्ञान र कानुनको प्रत्यक्ष अप्रत्यक्ष निगरानी र साझेदारी रहेको हुन्छ । समाजको आफ्नो छुट्टै मानक, नैतिकता, सामाजिक समझ र व्यवहार हुन्छ । सामाजिक व्यवहारको आलोकमा नैतिकता निसृत हुन्छ । नैतिकता सामयिक पनि हुन्छ । विगतमा नैतिक लाग्ने विषय आज अनैतिक र अवैधानिक बनेका हुन्छन्, त्यसैले सामयिक नैतिकताको पुनरुत्पादन हुनु जरुरी छ ।
भौतिक मूल्य र नैतिक मूल्य
नैतिकता त्यस्तो चिज, व्यवहार र आदर्श हो, जसले भौतिक मूल्यलाई कहिल्यै प्राथमिकीकरण गर्दैन । नैतिक मूल्य र उचाइ अङ्क गणितीय जोड घटाउमा भेटिन्न नैतिक देखिने पनि विकेका र चुकेका पाइन्छन् । लोभ र मोहमा फसेका देखिन्छन् । सार्वभौम नैतिकताले बाटो बिराएको देखिन्छ, अतः नैतिकताको पनि पुनरवलोकन, पुनव्र्याख्या र पुनर्पुष्टि आवश्यक छ । कुनै पनि विषयको औचित्य त्यतिबेलासम्म रहन्छ जतिबेलासम्म उसले आफ्नो प्राकृत स्वभाव गुमाउँदैन । ऊ अप्रशंसनीय बन्छ । जब ऊ आफ्नो धर्मबाट विचलनमा पुग्छ तब उसको बारेमा पूर्व मान्यता, दर्शन र मानकबारे सोचमग्न बन्ने स्थिति पैदा हुन्छ ।
हाम्रो समाजमा प्राचीनकालदेखि स्थापित नैतिक मूल्यमा गिरावट आएको छ । कतिपय अवस्थामा पुरानो अभ्यास र मानक भत्काउने स्वाभाविक प्रक्रिया हुन्छन् । तिनलाई भत्काएर नवनिर्माणको खाँचो हुन्छ कति अस्वाभाविक रूपमा स्खलनमा जाने हुनाले नव मान्यता स्थापित गर्न विहङ्गम विमर्श चलाउनु सामयिक हुन्छ । जसका लागि समाजमा अभ्यास गरिएको धार्मिक कानुन, त्यसले पारेका प्रभाव र समाजमा छोडेको अमिट छाप, मनोविज्ञान र विश्वासबारे तथ्यमा पुग्ने यत्न गर्नु पर्छ ।
संविधानको हक
नागरिकलाई दिने अधिकार संविधानमा फर्जी बनेर बस्यो । मान्छेलाई जातको ट्याग भिराएर अछुत बनाइयो । व्यवहारमा छुवाछुत र भेदभाव हटेन भनेर गुनासो गर्ने नागरिकलाई समानता र अधिकार संविधानमा छ भनेर सरकार गैरजिम्मेवार बन्छ । नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रयविक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको पुनः परिभाषा अपरिहार्य भएकाले नैतिकताको पुनव्र्याख्या जरुरी भनिएको हो ।
समाज सधैँ अवैज्ञानिक र परम्परागत तवरले चल्न सक्दैन । नूतन संस्कृति र संस्कारको थालनी गर्नु पर्छ । पूर्वीय दर्शनले प्रतिपादन गरेका विराट मूल्य र अस्तित्व जोगाउन पनि यसको कमजोरी सुधार गरेर आगामी पाइला चाल्नु पर्छ । नेपालले पनि हिन्दु धर्म र यसको विराट दर्शन, सौन्दर्य र ज्ञानको अथाह भण्डार बचाइराख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछुत र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मूलन गर्न अभियान चलाउन जति ढिला ग¥यो, नोक्सानी त्यति नै बढ्ने छ ।
हिन्दु धर्मको अभ्यास गर्नेहरूमा जातीय छुवाछुत छैन भनेर सफेद झुट बोल्ने र ढाकछोप गर्ने, टालटुल पार्ने काम आत्मघाती बन्ने छ र मानवताविरुद्धको अपराध र मानवीय सभ्यतामाथिको भद्दा मजाक हुने छ । कमजोरी हटाएर यसको मूल्यबोध गर्न जति ढिला ग¥यो, उति हिन्दु धर्म सङ्कुचनमा परेर सङ्कटोन्मुख हुने पक्का छ । एउटा धर्म दर्शनको विलुप्ति उसकै कारण होला तर उसको उपस्थितिमा, उसकै दार्शनिक मान्यताले मान्छेको बाँच्न पाउने हक खोसिनु किमार्थ स्वीकार्य हुन्न ।
समस्या छन् भने तिनको निदान पनि छ । ज्ञान विज्ञानको युगमा अन्धविश्वास र अन्ध तर्कलाई विस्थापित गर्दै धर्म, दर्शन र संस्कृतिले अँगालेका मानवहितकारी तत्वको आत्मसात् र अमानवीय रूढिग्रस्त विचारलाई तिलाञ्जली दिएर समयको रथलाई आफू अनुकूल बनाउनु पर्छ । धर्म र अप्रमाणिक भनेर सबै कुरा त्याज्य र विस्मृतिमा लैजान लायक छैनन् । मानवीय गुण र भावनाले ओतप्रोत दर्शन पनि छन् ।
दर्शन, विचार, संस्कृति र परम्परा नभएको समाज र मान्छे हुँदैन । असल पक्षको प्रवर्धन गर्दै खराबलाई त्याग्ने नवसंस्कृति बसाल्न देशका प्राज्ञिक, बौद्धिक र प्रबुद्ध वर्गले धर्म नैतिकताको पुनव्र्याख्याको अभियानमा आफूलाई समाहित गर्दै लैजानु पर्छ । सर्वस्वीकार्य नैतिकताको भाष्य त संसारमा कहीँ कतै नहोला तर अधिक स्वीकार्य मान्यताको वैचारिक बहसमा गर्नु पर्छ । सत्यलाई दृष्टिगोचर गर्ने तरिकालाई फराकिलो बनाउनु पर्छ । कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश धर्म दर्शन विशेष गरी वेदको व्याख्या गरिँदा आएका विकृत कुरा महिला र शुद्रको नाममा हुने विभेदजन्य पक्षलाई सच्याउने र हिन्दु धर्मले विभेद गर्दैन भन्ने नीति मीमांसालाई पालन गर्दै मार्ग तय गर्न सकिएन भने भयङ्कर दुर्घटना निम्तिने खतराबाट सम्बद्ध पक्ष सरोकारवाला सचेत रहनु पर्छ ।
विनिर्माणको अवसर
अग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक भनेर परिचय गराउने सर्वप्राचीन ऋग्वेद पक्कै सामान्य विद्या र लहडी लेखन मात्र होइन । वेदभित्र के छैन कति गहन जीवन, दर्शन र नीति नियमको विज्ञान छ । कति काल्पनिक र भविष्य द्रष्टा विचार छ । स्वामी प्रपन्नाचार्यले उसै ‘वेदमा के छ’ लेखेका होइनन् ? त्यसै गरी वेदभित्र त्याज्य प्रसङ्ग पनि छन् । वेदलाई आजको युग चेतनाले अपौरुषेय मान्दैन । वेद, पुराण, महाभारत जस्ता कृति मानवलिखित साहित्य, धर्म र दर्शन हुन् । यिनको गुदी ग्रहण गर्ने र बाँकी प्राचीन सभ्यता र इतिहास साहित्य र तत्कालीन चेतना भनेर मात्रै बुझ्ने बुझाउने गरियो भने यसबाट उत्पन्न हुने विवाद र झन्झटमा फसेर अलमल परेर बस्नु पर्दैन । वेद ज्ञानको अथाह भण्डार हो । यद्यपि यसको व्याख्या विश्लेषण र आजको चेतनाबाट हेर्दा कतिपय प्रसङ्ग निन्दायोग्य छन् ।
करिब ३५ सय वर्षअघि लेखिएको ग्रन्थलाई आजको चेतना र चस्माले हेर्नु वाञ्छनीय हुन्न । यसको आफ्नै सामाजिक मूल्य र नैतिक धरातल दार्शनिक मत रहेको छ । यद्यपि पुरानो हुनेबित्तिकै यो समग्रमा सही, धर्ममा आधारित भएको कारण अप्रश्नीय छ र हो भन्ने चिन्तन विल्कुल गलत हो । अतीतमा जे सही र मानक मूल्य हुन्थ्यो सो आज हुन, नहुन सक्छ त्यसैले मूल्याङ्कन, पुनर्मूल्याङ्कन, पुनरावलोकन, पुनर्ताजगी विज्ञानको नियम र गति हो ।
जतिसुकै प्राचीन सिद्धान्त र मान्यता भए पनि (सामयिक) अहिलेको युग विज्ञान र परिवेश सुहाउँदो बन्न सकेन भने त्यसको मृत्यु अवश्यमभावी छ । मानव निर्मित शास्त्रबारे मानवले प्रश्न गर्ने पुनर्पठन गर्ने अधिकार राख्छ । जीवनका जटिलतालाई ज्ञानको मार्ग र दर्शनद्वारा निरूपण गर्न सकिन्छ भन्ने तेजस्वी मन्त्रलाई पालना गर्ने हो भने कुनै पनि कुराको परिमार्जन शास्त्रसम्मत नै मान्न सकिन्छ । आफैँले आफैँलाई चिन्नु, चिनाउनु पूर्वीय दर्शनको मूल स्थापना भएकाले कुनै पनि मृत धारणा बोकेर कुद्नु पनि यस धर्मको मर्मविपरीत हुन जान्छ भन्ने तथ्य र तर्क यसका अनुयायीहरूले बुझ्नु पर्छ । दर्शन बुद्धि तìव र ज्ञानको विषय भएकाले तत्वको साक्षात्कार र अनुभूति दर्शनको ध्येय हो ।
पौरस्त्य दर्शनशास्त्र अनुसार आध्यात्मिक अनुभूतिबाट तत्व ज्ञान सम्भव छ सो अनुभूतिलाई उद्देश्यमूलक बनाउने विषय अहिलेको प्रमुख चुनौती र अवसर हो । पुनव्र्याख्या कुनै धर्मको विरोध होइन, त्यो धर्मलाई समयसँग सुसङ्गत बनाउने प्रक्रिया हो । कुनै पनि कुराको पुनरवलोकन अमृतमय अवसर पनि हो ।
आचरणमा नैतिकता
धर्म वस्तुको प्राकृतिक गुण हो । धर्मसँग नैतिकता जोडिएर आउँछ । नैतिकता भौतिक मूल्य नभएको उच्चतम अभ्यास, संस्कार र आदर्श गुण हो । अनैतिक र विरोधाभासको अनुहार अनेकथरी हुन्छ । नैतिकता अवलम्बन गरिने विषय हो । नैतिकताको दोहोरो मापदण्ड हुनुहुन्न ।
नैतिकता मानवीय मूल्यहरूको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार्ने र जीवनमा खुसी भित्र्याउने तागत राख्छ । लोकतन्त्र र गणतन्त्रलाई नैतिकता नभएको चिज भनेर जसरी आज बदनाम र अस्वीकृत गरिँदै छ, लोकतन्त्रले प्रार्थना, विनयशीलता र कृतज्ञता गुमाउँदै गएको देखिन्छ । यस्तो समाज अराजक र अनुशासनहीन बन्दै जान्छ । विवेक आवेगको नियन्त्रणबाट खोस्न पनि नैतिक शिक्षालय खोल्नु र चलाउनु नैतिक आरन बनाउन र अर्जाप्न पाइन राख्नु पर्छ । विचार सिद्धान्त दर्शन र दिग्दर्शन कुनै पनि कुराको हामीमा कमी छैन । ज्ञान र विज्ञानको युगमा लापर्बाह, अराजक, गैरजिम्मेवार अनि असन्तुष्ट र खतरनाक भएर आफैँलाई सिध्याउने छुट हुँदैन ।
अब के गरौँ ?
नैतिकता अब उपदेशको विषय मात्र होइन, व्यवहार र नीतिको अविभाज्य हिस्सा बन्नु पर्छ । राजनीतिक दल, धर्मगुरु, शिक्षाविद्, नीति निर्माता सबैले आआफ्नो क्षेत्रबाट नयाँ नैतिक ढाँचा निर्माणमा हात हाल्नु पर्छ । नयाँ पुस्तालाई प्रविधिसँगै नैतिक चिन्तन, विवेक र उत्तरदायित्व सिकाउनु पर्छ ।