मातृशक्ति अर्थात् शक्तिस्वरूपा भगवतीको आराधना गरिने नवरात्र वर्षमा चार पटक आउँछ– असार, असोज, माघ र चैतमा । यी चारै महिनाका शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म महाकाली–महालक्ष्मी–महासरस्वती रूपकी शक्तिस्वरूपा भगवतीको आराधना गर्ने परम्परा छ । यीमध्ये आश्विन शुक्ल पक्षमा गरिने दुर्गा पूजाको विशेष महìव रहेको छ । विशेष गरी घटस्थापना गरी जमरा (यवरोपण) राखिएको दसैँघर वा शक्तिपीठमा भगवती दुर्गाका नौ रूपको विशेष पूजा आराधना हुन्छ ।
को हुन् नवदुर्गा ?
पुराण अनुसार माता पार्वतीले विभिन्न समयमा लिएको रूप नै नवदुर्गा हुन् । सज्जनको रक्षा र दुष्टको विनाशका लागि देवीले समय समयमा विभिन्न रूप लिएकी थिइन् । मार्कण्डेय पुराण अन्तर्गत देवीमाहात्म्य अनुसार शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नै नवदुर्गा हुन् ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दसैँघरमा दुर्गाको पहिलो स्वरूप शैलपुत्रीको आराधना गरिन्छ । यसैगरी नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक एक देवीको उपासना गर्ने परम्परा छ ।
शैलपुत्री
माता पार्वती वा भगवती दुर्गाको पहिली स्वरूप हुन्, शैलपुत्री । पर्वतराज हिमालयको पुत्रीका रूपमा उत्पन्न भएकीले यिनलाई शैलपुत्री भनिएको पुराणमा उल्लेख छ । पूर्वजन्ममा यिनी सतीदेवी थिइन्, दक्षप्रजापति र मेनकाकी पुत्री तथा भगवान् शिवकी पत्नी । बुवाले आफ्ना पति महादेवको अपमान गरेको सहन नसकी यज्ञकुण्डमा हामफालेर यिनले प्राण त्याग गरिन् । वृष (साँढे) मा चढेकी, बायाँ हातमा कमल, अर्को हातमा त्रिशूल लिएकी यस्तो उनको स्वरूप छ । यिनको आराधनाले मनोकाङ्क्षा पूर्ण हुने बताइन्छ ।
ब्रह्मचारिणी
हिमालयकी पुत्रीका रूपमा जन्म लिएकी यिनले फेरि पनि महादेव नै पति पाउन कठिन तप गरेकी थिइन् । उनले कैयौँ वर्ष फलफूल मात्र खाएर, धेरै वर्ष निराहार र निर्जल भएर उपवास गरिन् । उनको तपस्याको प्रशंसा देवता–ऋषिले पनि गरे र शिव पति प्राप्त हुने वर दिए । दाहिने हातमा जपमाला, बायाँ हातमा कमण्डलु लिएकी भगवतीको आराधनाबाट श्रद्धालुमा तप, त्याग वैराग्य, सदाचार र संयम प्राप्त हुने विश्वास गरिन्छ ।
चन्द्रघण्टा
दुष्टको विनाशका लागि सदा तत्पर रहने चन्द्रघण्टा देवी भक्तका लागि अति सौम्य र शान्त रूपकी देखिन्छिन् । यिनको शिरमा घण्ट आकारको अर्धचन्द्र छ । यसैले उनलाई चन्द्रघण्टा भनिएको हो । यिनका १० हात छन् । त्रिशूल, वाण, गदा, धनुषलगायतका शस्त्रअस्त्र तथा एक हातमा कमण्डलु र अर्को हातमा कमलपुष्प छ । यिनले एक हातले अभय मुद्रा प्रदर्शन गरेकी छन् । यिनको आराधनाले मानिसले दुष्टशक्तिबाट मुक्त, सांसारिक कष्टबाट मुक्ति पाइने विश्वास छ ।
कुष्माण्डा
यिनलाई सृष्टिकी आदिस्वरूपा आदिशक्ति मानिएको छ । यिनीअघि ब्रह्माण्डको अस्तित्व नै नभएको बताइन्छ । आठ हात रहेकाले यिनलाई अष्टभुजा पनि भनिन्छ । कमण्डलु, कमलपुष्पसहित चक्र गदा आदि शस्त्रअस्त्र यिनीसँग छन् । कलश जपमाला पनि हातमा छ । उनको शरीर कान्ति वा तेज दसै दिशामा प्रवाहित भइरहेको हुन्छ । सुख, शान्ति र उन्नति प्राप्तिका लागि यिनको आराधना गरिन्छ ।
स्कन्दमाता
यिनी स्कन्द कुमार कार्तिकेयकी माता हुन् । कुमारलाई काखमा लिएकी सिंहवाहिनी स्कन्दमाताले एक हातमा कमलपुष्प अर्को हातमा वरद मुद्रा प्रदर्शन गरिरहेकी छन् । शुभ्र वर्णकी यिनलाई पद्मासना पनि भनिन्छ । यिनले भक्तको सबै कामना पूर्ति गरिदिने विश्वास गरिन्छ । पूर्ण सूर्यमण्डलकी अधिष्ठात्री भएकीले यिनको उपासना गर्नाले अलौकिक तेज एवं कान्ति प्राप्त हुने मान्यता छ । यिनको आराधनाले शान्ति, सुख र मोक्षको द्वार खुल्छ ।
कात्यायनी
कात्यायन महर्षिले भगवतीको वर्षौं आराधना गरेर उनलाई पुत्रीका रूपमा पाउने कामना गरेका थिए । त्यसैले उनले कात्यायनकी पुत्रीका रूपमा जन्म लिइन् । महिषासुरको अत्याचार बढ्दै गर्दा ब्रह्मा, विष्णु, महादेवले आआफ्नो तेजको अंश दिएर उनलाई उत्पन्न गरे । सिंहवाहिनी उनको चार भुजामध्ये एकमा कमल र अर्कोमा तरबार छ । एक हातले अभय र अर्को हातले वरद मुद्रा प्रदर्शन गरेको देख्न सकिन्छ । यिनको उपासनाले धर्म, अर्थ, काम, मोक्ष चारै फलको प्राप्ति हुने बताइन्छ ।
कालरात्रि
तीन नेत्र भएकी, कालो वर्णकी, केश फिँजारिएकी र गलामा चम्किलो विद्युत् माला लगाएकी यस्तो उनको स्वरूप छ । हातमा खड्ग र फलामको अस्त्र लिएकी, वरद र अभय मुद्रा प्रदर्शन गरिरहेकी उनी अत्यन्त भयानक स्वरूपकी देखिन्छिन् । उनको श्वासप्रश्वासबाट अग्निको ज्वाला निस्कन्छ । सज्जनलाई शुभ फल दिने, दुष्ट विनाशका लागि सधैँ तत्पर रहने रूपमा उनको ख्याति छ । यिनको कृपाले सबै बाधा नष्ट हुने र भयमुक्त भइने विश्वास गरिन्छ ।
महागौरी
वृषमा बसेकी त्रिशूल, डमरु लिएकी तथा अभय र वरद मुद्रा प्रदर्शन गरिरहेकी महागौरी शान्त प्रकृतिकी छन् । कठोर तपस्याका कारण यिनको शरीर अत्यन्तै कालो भएको थियो । शिवजीले गङ्गाको पवित्र जलबाट यिनको शरीर अत्यन्त गौरवर्णको बनाइदिएको उल्लेख छ । त्यसपछि गौरीबाट यिनको नाम महागौरी भयो । कठोर तपस्याबाटै यिनले शिवजीलाई पतिका रूपमा पाइन् । श्रद्धालुको ताप–सन्ताप घटाउने देवीकी रूपमा यी परिचित छन् ।
सिद्धिदात्री
सिद्धिदात्री श्रद्धालुलाई सबै प्रकार सिद्धि दिने देवी हुन् । भगवान् शिवले यिनैको कृपाले सिद्धि प्राप्त गरेको बताइन्छ । चार भुजा भएकी, शङ्ख–चक्र–गदा–पद्म हातमा लिएकी र कमलको आसन बनाएकी देवीको स्वरूप यिनको छ । नवदुर्गामध्येकी आठ देवीको पूजाआराधनापछि सिद्धि प्राप्त गर्न यिनको आराधना गर्ने विधान छ । लौकिक एवं पारलौकिक सबै प्रकारको कामना पूर्तिका लागि यिनको उपासना गरिन्छ । यिनकै अनुकम्पाले शिवको आधा शरीर देवीको भयो र उनी अर्धनारीश्वर भए भन्ने उल्लेख छ । निष्ठापूर्वक उनको आराधना गर्नाले सिद्धि प्राप्त हुने बताइन्छ ।
नवरात्रको समयमा दसैँघरमा मात्र नभई यी देवीका प्रतीक शक्तिपीठ (देवीको मन्दिर) मा समेत विशेष पूजाआराधना हुन्छ । श्रद्धालुले समेत शक्तिपीठमा पुगेर यी देवीको पूजाअर्चना गर्ने परम्परा छ ।