• २१ असोज २०८२, मङ्गलबार

ज्येष्ठ नागरिकको सम्मान

blog

स्थानीयदेखि विश्वव्यापी पहल : ज्येष्ठ नागरिकको आकाङ्क्षा हित र अधिकार भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अक्टोबर १ मा मनाइयो । यो दिवसले ज्येष्ठ नागरिकका अधिकार, सम्मान र योगदानलाई सम्झनुका साथै उनीहरूको जीवन गुणस्तर सुधार्न र उनीहरूलाई समाजको केन्द्रमा राख्न आग्रह गर्छ । 

ज्येष्ठ नागरिकलाई  परनिर्भरता वा दयादानका पात्रका रूपमा मात्र नभई अनुभव, ज्ञान, सिप र योगदानको स्रोतका रूपमा सम्मान गर्न आह्वान गर्छ । नेपाल जस्तो बहुसांस्कृतिक समाजमा जहाँ परिवार र समुदायको आधार ज्येष्ठ नागरिकमै जोडिएको छ, यहाँ उनीहरूको भूमिका अझ महत्वपूर्ण छ । यो दिवसले ज्येष्ठ नागरिकका अधिकारको आवश्यकताबारे सर्वसाधारणमा जनचेतना फैलाउने कामलाई निरन्तरता दिने भएकाले पनि यसको ठुलो महत्व छ । यो दिनलाई उनीहरूको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मानसँग सम्बन्धित जनचेतना अभिवृद्धि गर्ने प्रमुख दिनका रूपमा पनि लिएर सोही अनुरूपका कार्यक्रम सञ्चालन गर्ने गरिन्छ ।

आजको पुस्ता डिजिटल युगतर्फ तीव्र गतिमा अघि बढिरहे पनि सामाजिक मूल्य, परम्परा र संस्कृतिको धरोहरलाई जीवन्त बनाउने काम ज्येष्ठ नागरिकले नै गरिरहेका छन् । उमेर बढ्दै जाँदा देखिने स्वास्थ्य समस्या, एक्लोपन, हिंसा वा बेवास्ता जस्ता चुनौती समाजको तितो यथार्थ बनेर उभिइरहेका छन् । ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन प्रदान गर्नु हाम्रो सामूहिक दायित्व हो । उनीहरूको आकाङ्क्षा पूरा गर्न नीति, कार्यक्रम र व्यवहारमै सकारात्मक परिवर्तन ल्याउनु पर्छ । स्वस्थ, सक्रिय र सुरक्षित बुढ्यौलीका लागि स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र सामुदायिक समर्थनलाई मजबुत बनाउन आवश्यक छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउनुको औचित्यमध्ये राज्य, समुदाय र हरेक व्यक्तिलाई यी विषयका बारेमा स्मरण गराउनु पनि एक हो ।

नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई सुनिश्चित गरेको भए पनि व्यवहारमा अझै सुधारको खाँचो छ । अन्तरपुस्ता सहकार्य र आपसी सम्झदारीबिना समाज पूर्ण रूपमा समावेशी र न्यायपूर्ण बन्न सक्दैन । ज्येष्ठ नागरिकको अनुभव, सिप र जीवन भोगाइ हाम्रो सांस्कृतिक धरोहर र सामाजिक ज्ञानको ठुलो सम्पत्ति हो । उनीहरूले देखेका समाज, बिताएका समय र पाएका सफलताले नयाँ पुस्तालाई जीवनमा उभिन प्रेरणा दिन्छ । त्यसैले ज्येष्ठ नागरिक बोझ होइन, अवसर हो भन्ने दृष्टिले हेर्न आवश्यक छ ।

नेपालमा सङ्ख्याका हिसाबले तीव्र रूपमा ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दै गइरहेको मुलुक हो । हाल नेपालमा कुल जनसङ्ख्याको १०.२१ प्रतिशत ६० वर्ष वा सोभन्दा माथिका व्यक्ति अर्थात् ज्येष्ठ नागरिक छन् । उनीहरूका लागि सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा, घरमै सेवा, ज्येष्ठ नागरिक नीतिलगायतका कार्यक्रम सञ्चालनमा आए पनि अझै प्रभावकारी कार्यान्वयनको खाँचो छ ।

आधुनिक मानव सभ्यताले स्वास्थ्य सेवा, प्रविधि र जीवनस्तरमा गरेको प्रगतिले विश्वभरका व्यक्तिको जीवनलाई सहज बनाएको छ । यसको प्रत्यक्ष प्रभाव नेपाल जस्ता देशमा पनि बढ्दो मात्रामा देखिन थालेको छ । विश्वभरि नै ज्येष्ठ नागरिकको जनसङ्ख्याको अनुपात तीव्र रूपमा बढ्दै गएको छ । उनीहरूका आकाङ्क्षा, हित र अधिकारलाई सम्बोधन गर्नु अब विकल्प नभएर अनिवार्य दायित्व बनेको छ । यो वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नाराले यही यथार्थको प्रतिनिधित्व गर्छ ।

स्थानीय तहमार्फत सुरुवात गर्ने हो भने गाउँपालिका तथा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकमैत्री नीति, उनीहरूमाथि हुने दुव्र्यवहार र बेवास्ताविरुद्ध जनचेतना अभिवृद्धि जस्ता कार्यक्रमलाई महत्वका साथ अघि बढाएका छन् । केही स्थानीय निकायले घरमै पुगेर सेवा सुविधा दिने, स्वास्थ्य परीक्षण गर्ने, एकल वा अशक्त ज्येष्ठ नागरिकका लागि स्वयंसेवक परिचालन गर्ने अभ्यास पनि सुरु गरेका छन् । यस्ता उदाहरणीय प्रयासले उनीहरूको दैनिक जीवन सहज बनाउने मात्र होइन, आत्मसम्मान पनि जोगाउँछ र अरूलाई पनि यस्ता कार्यक्रम गर्न मार्ग दर्शन प्रदान गर्छ ।

यससँगै परिवार र समुदायस्तरको व्यवहारमा परिवर्तन हुन पनि जरुरी छ । सांस्कृतिक रूपमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा भए पनि व्यवहारमा ती परम्परा कमजोर हुँदै गएका छन् । परिवारभित्र सहभागिता, पारिवारिक निर्णयमा स्थान, माया र स्नेहले उनीहरूको मनोवैज्ञानिक र सामाजिक अधिकार सुनिश्चित गर्छ । समुदायमा सक्रिय सहभागिता, सिप उपयोग र ज्ञानको हस्तान्तरण हुने वातावरण सिर्जना गर्न सके मात्रै पनि ज्येष्ठ नागरिकलाई जिम्मेवारीसहितको मान्यता दिन सकिन्छ ।

राष्ट्रियस्तरमा हेर्दा नेपालको संविधानले ज्येष्ठ नागरिकलाई अधिकारयुक्त समूहका रूपमा समेटेको छ । ज्येष्ठ नागरिक ऐन तथा नियमावलीमार्फत अधिकारको कानुनी आधार निर्माण गरिएको छ । यसको चुनौती भनेकै कार्यान्वयनको पक्षमा रहेको छ । पेन्सन, सामाजिक सुरक्षा, स्वास्थ्य बिमा, सहज रोजगार, हेरचाह सेवा, आधारभूत पूर्वाधार व्यवस्थाका लागि सरकारले अझ ठोस नीति र स्रोत परिचालन गर्नु पर्छ । वृद्धाश्रम (कोही र केही नभएकाका लागि), दिवा सेवा केन्द्र, जेरियाट्रिक (ज्येष्ठ नागरिक विशेष) अस्पताल वा वार्ड, ज्येष्ठ नागरिक क्लब तथा समूह निर्माण जस्ता अवधारणामा लगानी बढाउनु अपरिहार्य छ ।

अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा हेर्दा संयुक्त राष्ट्रसङ्घले १९९१ मा स्वीकृत ‘ज्येष्ठ नागरिकका लागि आधारभूत सिद्धान्त’ र  ‘म्याड्रिड अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक कार्ययोजना’ (२००२) मार्फत ज्येष्ठ नागरिकका अधिकार र सम्मानको मानक तय गरेको छ । ‘म्याड्रिड अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक कार्ययोजना’ मा ज्येष्ठ नागरिकको हकहितका लागि गर्नुपर्ने एक सयभन्दा बढी काम सुझाइएका छन् । ती सबै काम मुख्यतः ज्येष्ठ नागरिक र विकास, बुढ्यौलीमा स्वास्थ्य सेवा र सहयोगी वातावरणको निर्माण विषय केन्द्रित छन् । अहिले नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्र आआफ्ना मुलुकमा ‘म्याड्रिड अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक कार्ययोजना’ कार्यान्वयन गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, सरकारी तथा गैरसरकारी सङ्घ संस्थासँग साझेदारी गरिरहेका छन् । ‘छोड्न नहुने, समावेश गरिनुपर्ने पुस्ता’ भन्ने धारणा विश्वव्यापी रूपमा बलियो बन्दै गएको छ । २०३० को दिगो विकास एजेन्डाले पनि ‘कसैलाई पछाडि नछोड्ने’ नीतिभित्र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको छ । विश्व स्वास्थ्य सङ्गठनले ‘हेल्दी एजिङ’ अभियानमार्फत स्वस्थ र सक्रिय बुढ्यौलीलाई अवसरका रूपमा पहिचान गरिरहेको छ ।

नेपाल पनि यी अन्तर्राष्ट्रिय प्रतिबद्धताका भाग भएको नाताले स्थानीयदेखि राष्ट्रिय र विश्वव्यापी कार्यक्रमलाई जोड्ने पुलका रूपमा अघि बढ्नु जरुरी छ । अन्तर्राष्ट्रिय अनुभवबाट सिकेर, आफ्ना सांस्कृतिक मूल्य र सामुदायिक संरचनालाई जोडेर, नीति तथा कार्यक्रम अमल गरिएमा मात्र ज्येष्ठ नागरिकले खोजेको सम्मान, योगदान गर्ने अवसर र सुरक्षित जीवनको अधिकार सुनिश्चित हुन सक्छ ।

ज्येष्ठ नागरिक केवल सहानुभूतिका पात्र होइनन् । उनीहरू अनुभव, सिप र ज्ञानको स्रोत हुन् । उनीहरूको आकाङ्क्षा सुन्ने, अधिकार कार्यान्वयन गर्ने र हित सुरक्षित गर्ने काम बोलीचालीमा सीमित नराखी व्यवहारमै उतार्नु वास्तविक सशक्तीकरण हो । स्थानीयसँग सुरु गरी राष्ट्रिय नीतिमा सम्बद्धता र विश्वव्यापी अभ्याससँग समन्वय गर्न सकेमा मात्र ज्येष्ठ नागरिकमैत्री समाजलाई वास्तविकतामा रूपान्तरण गर्न सकिन्छ । हामीले ज्येष्ठ नागरिकलाई विकासका बाधक होइन, साझेदारका रूपमा लिनु आवश्यक छ । उनीहरूलाई निर्णय प्रक्रियामा समावेश गर्नु, उनीहरूको सिप र अनुभव उपयोग गर्ने अवसर दिनु र सम्मानित जीवनयापन सुनिश्चित गर्नु नै दीर्घकालीन समाधान हो । स्थानीय तहको प्रयास, राष्ट्रिय कानुनी बलियो आधार र अन्तर्राष्ट्रिय प्रतिबद्धताको संयोजनबाट मात्रै उनीहरूको जीवनमा यथार्थ परिवर्तन सम्भव हुन्छ । अधिकार नीतिमा होइन, कार्यान्वयनमा देखिनु पर्छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले हाम्रो देशमा परिवार, समुदाय र सरकारलाई ज्येष्ठ नागरिकका आवाज, योगदान र आवश्यकता पहिचान गर्न प्रेरित गर्ने महत्वपूर्ण मञ्चको काम गर्ने गरेको छ । यो दिवसले ज्येष्ठहरूलाई ‘अवसरका दाता, ज्ञानका धनी र अधिकारका अधिकारी’ का रूपमा मान्यता दिँदै उनीहरूको सम्मान, सुरक्षात्मक व्यवस्था र समावेशी भविष्य सुनिश्चित गर्ने जग बसाल्न सकोस् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस केवल एक दिनको कार्यक्रम होइन, यो हाम्रो सामूहिक प्रतिबद्धताको प्रतीक हो । हामी सबै मिलेर ज्येष्ठ नागरिकलाई सुरक्षित, सम्मानित र सक्रिय जीवन बिताउने वातावरण बनाउन सक्यौँ भने मात्रै हाम्रो समाज साँच्चिकै सभ्य र समावेशी बन्न सक्छ ।