• २१ असोज २०८२, मङ्गलबार

तमोर काेरिडोर दुर्घटनामा परी मृत्यु हुनेको यातायात खर्च मेरिङदेनले बेहोर्ने

blog

मेरिङदेन गाउँपालिकाको कार्यालय ।

साहारा लिम्बू 

फुङलिङ, असोज १९ गते । तमोर कोरिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ मध्ये ४ जना मेरिङदेन गाउँपालिकाका  छन् । योसँगे मेरिङदेन गाउँपालिका नै शोकमा परेको छ । 

मृत्यु हुने ६ जनामध्ये ४ जनामा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका विनोद लङवा, मेरिङदेन–४ लिङ्तेपका गीता हाङगाम, मेरिङदेन–५ थुकिमाका अभिषेक लिम्बू र मेरिङदेन–५ थुकिमाकै धनकुमार लिम्बू रहेको प्रहरीको मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङ वीर हाङ्गाम डम्बरले बताउनुभयो । यस्तै मृत्यु हुने अन्य दुई जनामा मोरङको उर्लाबारी नगरपालिका–८ की मनीषा कार्की, सिदिङवा गाउँपालिकाकी २९ वर्षीया युना तामाङ रहनुएको छ । 

यो सँगै मेरिङदेन गाउँपालिकाले सम्पूर्ण मृतकलाई आ–आफ्नो घरसम्म ल्याउनका लागि यातायात बापतको खर्च बेहोर्ने भएको छ । गाउँपालिका अध्यक्ष हाङ्गामले भन्नुभयो, अहिले मेरिङदेन गाउँपालिका नै शोकमा डुबेको छ । यो अवस्थामा पालिकाले सम्पूर्ण मृतकहरूको शवलाई आ आफ्नो घरसम्म ल्याउनका लागि यातायात बापतको खर्च बेहोर्ने निर्णय गरेको छ । 

अध्यक्ष हाङ्गामका अनुसार घाइते हुने ६ जनामध्ये २ जना मेरिङदेन गाउँपालिकाकै छन् । २२ वर्षका महेश केदेम लिम्बू र २५ वर्षीय विमल लिम्बू मेरिङदेन–५ थुकिमाकै रहेका अध्यक्ष हाङ्गामले बताउनुभयो । 

जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ ।