• २२ असोज २०८२, बुधबार

लोप हुने खतरामा ऐतिहासिक सराय नाच, संस्कृति जोगाउन प्रतियोगिता

blog

इस्मा गाउँपालिका–२ हस्तिचौरको सरायमा उत्कृष्ट ताल्तुङ्ग समूह । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), असोज १९ गते । गुल्मी जिल्लाको पश्चिममा प्रख्यात मानिने सराय नाच दसैं टीकाको भोलिपल्टबाट विभिन्न ठाउँमा खेलिन्छ । लामो इतिहास रहेको सराय नाच पुस्तान्तरण नभएकाले जोगाउन मुस्किल परिरहेको छ । हतियारको साथमा खेलिने परम्परागत साहसिक नाच सराय नाच जोगाउन मुसिकोट नगरपालिका–४ बडागाउँमा भने प्रतियोगिता नै गर्नुपर्ने बाध्यता परेको छ । 

स्थानीय खड्गदेवी मन्दिर व्यास्थापन समिति र बडागाउँ देउसी भैलो समूहको संयुक्त आयोजनामा मुसिकोट माविको प्राङ्गणमा सराय नाच खेलियो । मुसिकोट र इस्माका विभिन्न सात समूहलाई उछिन्दै हस्तिचौरको ताल्तुङ्ग सरायँ समूहले उत्कृष्ट अर्थात् प्रथम स्थान प्राप्त गर्‍यो  । 

त्यस्तै बडागाउँ समूह द्वितीय र पेँगाको समूह तृतीय भएको कार्यक्रम व्यवस्थापक समुन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो । प्रथम, द्वितीय र तृतीय समूहले क्रमश १८, १२ र ६ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै दुई हजार रुपियाँ प्रत्येक समूहले सहभागितावापत पाएका थिए । उत्कृष्ट ताल्तुङ्ग, बडागाउँ र पेँगासहित आयोजक खड्गदेवी मन्दिर तथा बडागाउँ देउसी भैलो समूह, जेगा, धरमपानी र देवीस्थानको समूहले सराय प्रस्तुत गरेका थिए । 

वसन्त सारु र दिवस कुँवरको जोडीले उत्कृष्ट सराय नृत्यको पुरस्कार जितेका छन् । बडागाउँमा हुने सरायको स्थानीय ७३ वर्षीय निर्खसिंह ठकुरी पुरानोमध्येको साक्षी हुनुहुन्छ । उहाँ बच्चाबाटै सरायँ खेल्नुहुन्थ्यो । पहिले–पहिले सराय खेल्ने र हेर्नेले चौर खचाखच हुन्थ्यो । द्वन्द्वकाल अगाडि राति सरायँ हुन्थ्यो । जुनको झुल्कोसँगै सराय हेर्ने र खेल्नेले बारुवाको खेल मैदान भरिभराउ हुने भए पनि सुरक्षाको कारण द्वन्द्वकालपछि दिउँसोमा सराय गर्न थालिएको ठकुरीले बताउनुभयो । 

उहाँले अहिले युवाहरु नाच्न जाँगर नगर्ने र बसाइँसराइले गाउँ रित्तो हुँदै गएपछि हेर्ने दर्शकहरु पनि हराउँदै गएको गुनासो गर्नुभयो । अहिले युवाहरुमा सरायको पुस्तान्तरण र प्रतिस्पर्धामार्फत रौनकता बढाउन प्रतियोगिता राखिएको ठकुरीले बताउनुभयो । 

मुसिकोट नगरपालिका–१ को छत्रभूमि संरक्षण विकास प्रतिष्ठानको आयोजनामा सराय नाच प्रतियोगिता गरिएको छ । प्रतियोगितामा मानबहादुर घर्तीको सराय समूह प्रथम, शिखर परियारको समूह द्वितीय, श्रृङ्गेश्वर आमा समूह तृतीय र गोपाल पाठकको समूह सान्त्वना भएको छ । प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश : १६, १२ र १० हजार रुपियाँ प्रदान गरिएको थियो । साथै सान्त्वना पुरस्कार १५ जनालाई जनही एक/एक हजार रुपियाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।