वर्तमान विश्वका लागि प्राविधिक सिपयुक्त जनशक्तिको माग बढेर गएको छ । आजको शिक्षा सैद्धान्तिकभन्दा पनि व्यवहारमा प्रयोग गर्नेखालको सिपमूलक हुनु पर्छ भन्ने आममान्यता छ । नेपाल सरकारले पनि प्राविधिक जनशक्ति उत्पादनलाई आफ्नो प्राथमिकताको सूचीमा राखेर लगानी गरिरहेको छ ।
नेपालमा निम्न र मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने अग्रणी संस्थाका रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले विभिन्नखालका प्राविधिक कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपालमा प्राविधिक जनशक्ति उत्पादनमा सिटिइभिटीको अहम् भूमिकासमेत रहेको छ । केही समययता प्राविधिक शिक्षामा विद्यार्थी भर्नाको अवस्था बिजोगपूर्ण रहेको छ । चालु शैक्षिक सत्रमा विद्यार्थी भर्नाको अवस्था हेर्ने हो भने स्वास्थ्यबाहेकका कार्यक्रममा औसत १० प्रतिशत पनि विद्यार्थी भर्ना भएको देखिँदैन । चालु शैक्षिक सत्रका लागि सिटिइभिटीले लिएको प्रवेश परीक्षाका आधारमा यो तथ्याङ्क लिइएको हो ।
हालै सिटिइभिटीले प्रकाशन गरेको डिप्लोमा तहको प्रवेश परीक्षामा सहभागी सातै प्रदेशका विद्यार्थीको सहभागितालाई विश्लेषण गर्दा विद्यार्थीको अभिरुचि प्राविधिक शिक्षामा घट्दै गएको पाइन्छ । प्रवेश परीक्षामा सहभागी विद्यार्थीको सङ्ख्यालाई आधार मान्दा देशका नाम चलेका प्राविधिक शिक्षालयमा समेत एक जना मात्रै सहभागी भएको देखिन्छ । शुल्कका दृष्टिले सबैभन्दा धेरै विद्यार्थीको आकर्षण मानिने आङ्गिक शिक्षालयमा पनि विद्यार्थीको सङ्ख्या निकै दयालाग्दो रहेको छ । कतिपय आङ्गिक शिक्षालयले त विद्यार्थी शून्य हुँदा चलिरहेको विभिन्न प्राविधिक कार्यक्रम बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । टेक्स विद्यालय पनि निकै ठुलो सङ्ख्यामा बन्द भएका छन् ।
एकातिर प्राविधिक जनशक्तिको माग बढ्दै जानु अनि अर्कातिर चाहिँ प्राविधिक शिक्षामा विद्यार्थीको उपस्थिति कमजोर हुँदै जानुले पक्कै पनि सकारात्मक सन्देश प्रवाह गरेको छैन । देशका लागि आवश्यक प्राविधिक शिक्षामा विद्यार्थी सङ्ख्या निरन्तर ओह्रालो लाग्नुले हाम्रो प्राविधिक शिक्षाको नीति कतै त्रुटिपूर्ण त छैन भनेर एक पटक सोच्नुपर्ने देखिएको छ । राज्यले लगानी गरिसकेपछि त्यसको प्रतिफल कसरी प्राप्त गर्ने भन्नेबारेमा राज्यसँग नीति हुनु आवश्यक छ । अहिले संसारैभरि प्राविधिक शिक्षाको माग र आकर्षण बढिरहँदा पनि किन हाम्रो अवस्था खस्कँदै गएको होला भन्नेबारेमा वस्तुनिष्ठ भएर मिहिन ढङ्गले केलाउनु जरुरी छ । खास गरेर प्राविधिक शिक्षाको विकास र विस्तारका लागि स्थापना गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी नेतृत्वले यसबारेमा के गरिरहेको छ भन्ने कुराको विशेष महत्व राख्छ । प्राविधिक शिक्षाको अवस्था खस्कँदा यसको सम्पूर्ण दोष सिटिइभिटीले नै आफ्नो काँधमा लिनु पर्छ ।
नेपालमा प्राविधिक शिक्षामा विद्यार्थीको सङ्ख्या ओह्रालो लागेको यो नै पहिलो पटक भने होइन । विगत पाँच वर्षयताको तथ्याङ्क विश्लेषण गर्दा यस्तो परिणाम देखिएको हो । यहाँनेर ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भने विद्यार्थी सङ्ख्या खस्कँदै जाँदा पनि यो समयमा सिटिइभिटीका आङ्गिक र साझेदारी गरेर करिब पाँच सय नयाँ शिक्षालय स्थापना भएका छन् । यसरी स्थापना गरिएका शिक्षालय राज्यको प्रत्यक्ष लगानी भएका शैक्षिक संस्थाहरू रहेका छन् । विद्यार्थीको प्राविधिक कार्यक्रमप्रति मोह घटिरहेको अवस्थामा पनि किन राज्यको लगानीमा ठुला ठुला शैक्षिक संस्था स्थापना गरिए भन्ने अहिलेको मूल प्रश्न हो । विद्यार्थीबिनाका शिक्षालयका अहिले पनि ठुला ठुला भवन रहेका छन् । स्थापना भएको एकाध वर्षमा बन्द हुने अवस्थामा पुगेका शिक्षालय स्थापना गर्दा राज्यले किन सम्भाव्यता अध्ययन र अनुसन्धान गरेन ? भवन, ल्याब र कर्मचारीका नाममा राज्यले गरेको खर्चको जिम्मेवारी कसले लिने हो ? यसबारेमा जिम्मेवार निकाय जवाफदेही बन्न सकेका छैनन् ।
सिपयुक्त दक्ष र गरिखाने जनशक्ति उत्पादन गर्नु प्राविधिक शिक्षाको मूल ध्येय हो । आज पनि देशभित्र यसखालको जनशक्तिले ठुलो आर्थिक गतिविधि गरिरहेको छ । कुनै पनि देशको विकासका लागि सिपयुक्त जनशक्तिलाई पहिलो आधार मानिन्छ । सिपले व्यक्तिलाई प्रत्यक्ष रूपमा रोजगार र स्वरोजगारसँग जोड्ने भएकाले प्राविधिक जनशक्तिलाई देशको मेरुदण्ड पनि मानिन्छ । अन्य देशको तुलनामा नेपालमा प्राविधिक शिक्षाको विकास निकै धिमा गतिमा भइरहेको छ । प्राविधिक जनशक्ति उत्पादनको हाम्रो धेरै लामो इतिहास छैन । छोटो समयमै यसको गति आशालाग्दो देखिँदैन । प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थी र तिनका अभिभावक अपेक्षाकृत रूपमा यसबाट सन्तुष्ट छैनन् । एकातिर हामी प्राविधिक जनशक्तिको बजार फराकिलो छ भनिरहेका छौँ तर अर्कातिर फेरि प्राविधिक जनशक्तिहरू रोजगारीसँग जोडिन सकिरहेका छैनन् । कतै ज्ञान र सिपलाई रोजगारीसँग जोड्ने पुलको काम हुन नसकेकाले त होइन ? सिटिइभिटीले यसखालको अभ्यास पनि खासै गरेको देखिँदैन । उत्पादित जनशक्तिलाई कसरी बजारमा खपत गर्ने भन्नेबारेमा रणनीतिक योजना निर्माण गर्नु पर्छ ।
प्राविधिक शिक्षाको अहिलेको अवस्था सुधार्न पहिलो कुरा सिटिइभिटीले केही नीतिगत विषय संशोधन गर्नु पर्छ । शिक्षालय विद्यार्थीविहीन हुँदा पनि नेतृत्वले गम्भीरतापूर्वक यसको समीक्षा गरेर सुधार्न सकेको छैन । विद्यार्थी किन घटिरहेका छन् ? यसको सूक्ष्मतम अध्ययन गरेर सुधारका लागि तत्काल पहल गर्नु पर्छ । अझै पनि हामीलाई बिस्तारै गरौँला भन्ने छुट छैन । सकिएपछि खरानी टकटक्याउनुभन्दा केही अवशेष बचेको बेलामै प्रयास गर्नु मनासिब हुन्छ ।
सिटिइभिटीले वार्षिक आयोजना गर्ने परम्परागतखालका केही समीक्षा बैठकबाहेक यसको विस्तृत रूपमा छलफल हुन सकिरहेको देखिँदैन । कतिपय विषयमा परिवर्तन गर्न खोजे पनि हचुवाका भरमा परिवर्तन गरेको पाइन्छ । यसको एउटा उदाहरणका रूपमा कृषि विज्ञान कार्यक्रमलाई लिन सकिन्छ । तीन वर्षअघि कृषि विज्ञान कार्यक्रमलाई वार्षिक प्रणालीबाट परिवर्तन गरेर सेमेस्टर प्रणालीमा लगेको सिटिइभिटी तीन वर्ष पनि टिक्न नसकेर फेरि वार्षिक प्रणालीतर्फ फर्किएको छ । यस्ता अनेकानेक उदाहरण रहेका छन् ।
अनावश्यक विषयको बोझ विद्यार्थीमाथि थोपरिएको छ । प्राविधिक विषय अध्ययन गरेर सिप सिक्न खोजिरहेका विद्यार्थीलाई विज्ञानका जटिल विषयको अध्ययनमा अनिवार्यता गर्नु पनि यसको अर्को दोष हो । दुई वर्षमा विद्यार्थीका लागि आवश्यक पर्ने प्राविधिक विषय सिकाउने अझ त्यसमा पनि सिपलाई नै प्राथमिकता दिन सकियो भने त्यसले विद्यार्थीमा ऊर्जा थप्ने गर्छ ।
पछिल्लो समय जेनजी पुस्ताको कुरा उठिरहेको छ । अब हामीले विद्यार्थीलाई के पढाउनेभन्दा पनि विद्यार्थी के पढ्न चाहन्छन् भन्ने कुरामा ध्यान दिनु पर्छ । हामीले विद्यार्थीको अभिरुचि र आवश्यकतालाई मनन नगरेर आफूले चाहेको मात्रै सिकायौँ भने त्यसले विद्यार्थीमा निराशा पैदा गर्छ । विद्यार्थी के सिक्न चाहन्छन् भनेर के सिटिइभिटीले कहिले सर्वेक्षण गरेको छ ? या हामीले हाम्रा शिक्षालयमा सर्वेक्षण गर्ने प्रयास गरेका छौँ ? एक पटक हामीले आफँैलाई प्रश्न गर्नुपर्ने बेला भएको छ ।
संसारैभर प्राविधिक जनशक्ति माग भइरहेको अवस्थामा विद्यार्थी किन प्राविधिक विषय पढ्नका लागि राजी भइरहेका छैनन् भन्ने सिटिइभिटीले सूक्ष्म अध्ययन गर्नु पर्छ । केवल भर्ना खोलेर अनि परीक्षा सञ्चालन गरेर मात्रै सिटिइभिटीको दायित्व पूरा हुँदैन । संस्थाको असहज अवस्था सुधारका लागि आवश्यक पहल र नेतृत्व पनि लिन सक्नु पर्छ । विडम्बना अहिले सिटिइभिटीको नेतृत्वले यस विषयमा कुनै पनि खालको पहलकदमी लिन सकेको छैन । यो शैक्षिक सत्रमा विद्यार्थी भर्नाको अवस्था न्यून हुँदा पनि नेतृत्वले नयाँ योजना निर्माण गर्ने, विद्यार्थीसम्म पुग्ने अनि शिक्षालयलाई परिचालन गर्ने कुनै पनि खालका कदम अगाडि बढाउन नसक्दा अन्ततः संस्थै धराशायी हुने अवस्था सिर्जना भएको छ । अझै पनि यसबारेमा केही नयाँ ढङ्गले सोच्न सकिएन भने सिटिइभिटी भन्ने कुनै संस्था इतिहासमा थियो भनेर खोज्नुपर्ने हुन सक्छ ।