• १९ असोज २०८२, आइतबार

महिला क्रिकेटः नेपालसँग मलेसिया पराजित

blog

काठमाडौँ,  असोज १८ गते । अन्तरराष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई छ ‘विकेट’ले पराजित गर्दै जित हासिल गरेको हो । यससँगै यो शृङ्खलामा नेपालले पहिलो जित दर्ता गराएको छ । यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन ‘रन’ले पराजित भएको थियो ।

आज मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् भने रुबी पोद्दारले १५ रन बनाइन् । मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक/एक विकेट लिए । 

त्यसअघि ‘टस’ हारेर पहिले ‘ब्याटिङ’को निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रन योगदान दिएकी थिइन् । त्यस्तै कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।

नेपालकी सोमु विष्टले दुई तथा तथा कविता कुँवरले एक विकेट लिए । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खला १–१ को बराबरीमा छ । नेपालले आगामी जनवरीमा घरेलु मैदानमा नै हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृङ्खला खेलेको हो । रासस