धनुषा, असोज १७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा जारी गरिएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आज रुपैठामा भएको हिन्दु र मुस्लिम समुदयबीचको झडपपछि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।
आज साँझ ६ः३० बजेदेखि लागू हुनेगरी प्रशासनले रुपैठाको चारैतर्फ क्षेत्रलाई समेटेर कुनै पनि सभा, जुलुस, नाराबाजी, बैठक, सामूहिक कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद भएपछि सो क्षेत्र तनावग्रस्त भएको हो । आदेशअनुसार रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गँगुली पूलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न पाइने छैन ।
गत महिना मात्र गणेश पूजापछि मूर्ति विसर्जनमा त्यहाँमा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको थियो । पुनः दुर्गाको मूर्ति विसर्जनमा अवरोध भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।