• १८ असोज २०८२, शनिबार

भारी वर्षाको जोखिम : उच्च सतर्कता अपनाउन कांग्रेसको अपील

blog

काठमाडौँ, असोज १७ गते । नेपाली कांग्रेसले असोज १८ गतेदेखि देशका विभिन्न भागमा सक्रिय हुने अनुमान गरिएको भारी वर्षाले ठूलो जोखिम निम्त्याउने सम्भावना रहेकाले उच्च सतर्कता र प्रतिकार्य तयारीका लागि अपील गरेको छ।

कांग्रेसले सरकार, राजनीतिक दलहरू, सरोकारवाला निकाय तथा सम्पूर्ण नागरिकलाई उच्च सतर्कता र प्रतिकार्य तयारीका लागि अपील गरेको हो । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सो अपिल जारी गर्नु भएको हो । 

गत वर्ष असोज १२ मा भएको ठूलो जनधनको क्षति र यस वर्ष भदौ २३ र २४ मा देखिएको विपदले मुलुक अझै पीडामा रहेको अवस्थामा फेरि ठूलो जोखिमको संकेत देखिएको भन्दै कांग्रेसले सबैलाई एेक्यवद्ध भएर चुनौती सामना गर्न आह्वान गरेको हो।

नेपाली कांग्रेसले सात बुँदे सतर्कता प्रस्तुत गर्दै यात्रु, स्थानीयवासी, स्थानीय सरकार, प्रशासन र स्वयंसेवकलाई जिम्मेवार ढंगले काम गर्न अनुरोध गरेको छ। 

दशैंको समयमा लाखौँ नागरिक यात्रा गरिरहेको परिस्थितिमा सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्नुपर्ने, बाढीपहिरो सम्भावित जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्नुपर्ने, तथा जोखिमपूर्ण सडक तत्कालका लागि बन्द गर्नुपर्नेमा जोड दिइएको छ।

यस्तै, सडक अवरुद्ध हुँदा यात्रु र स्थानीयवासीलाई सहयोग गर्न स्थानीय तह, प्रशासन, दलहरू र स्वयंसेवकलाई सक्रिय रहन भनिएको छ। 

विपदसँग जुध्न साधन, स्रोत र उद्धार टोली तयारी अवस्थामा राखी तीनै तहका सरकारबीच समन्वयमा काम गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ।

नेपाली कांग्रेसले सरकारलाई युद्धस्तरमा सजगता र तयारी गर्न आग्रह गर्दै आफ्ना सबै तहका सदस्यहरूलाई स्वयंसेवी भावनासाथ राहत, उद्धार र सहयोगमा खटिन विशेष अपील गरेको छ।