• १७ असोज २०८२, शुक्रबार

घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै

blog

फाइल तस्बिर ।

कञ्चनपुर, असोज १७ गते। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ । 

केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाईभैँसी, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रमक रोगविरुद्ध खोप लगाइने भएको हो । 

“तत्काल खोप अभियानल सञ्चालनका लागि भेटेरिनरी सकायमा अध्यायन गरेका प्राविधिक, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मी तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई सूचीकृत गर्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “तिहार पश्चात खोप अभियान सञ्चालन गर्छौं ।” 

जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरी पशु प्राविधिक सूचीकृतको कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँले खोप कार्यक्रमलाई पशुपालकका गोठमै पुगेर लगाउने व्यवस्था मिलाइने बताउनुभयो । विगतका वर्षझै यसवर्ष पनि खोरेत, पिपआर लगायतका खोप अभियान सञ्चालन हुने छन् । 

उहाँले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका घरपालुवा जनावर जंगली जनावरको सम्पर्कमा आउने सम्भावना बढी हुन्छ, यसले गर्दा संक्रामक रोग सर्ने खतरा हुन्छ र त्यसैले खोप अभियानलाई यस क्षेत्रमा बढी केन्द्रित गर्छौ, त्यसबाहेकका क्षेत्रमा पनि खोप अभियान सञ्चालन हुन्छ ।” घरपालुवा जनावरमा प्रायः खोरेत, पिपिआर लगायतका रोग देखिने गर्छ ।

यी रोगविरुद्ध समयमै खोप लगाउन नसक्दा ठूलो मात्रामा जनावर मर्ने, दूध–मासु उत्पादन घट्ने र किसानको जीविकोपार्जनमा गम्भीर असर पर्ने देखिन्छ । “यस अभियानले पशुधनको स्वास्थ्य सुधार गर्नुका साथै किसानको आयआर्जन सुरक्षित गर्ने विश्वास लिएका छौंँ”, उहाँले भन्नुभयो, “घरपालुवा जनावरबाट जंगली जनावरमा रोग सर्ने जोखिम कम गर्ने उद्देश्यले पनि अभियानलाई अघि बढाइने तयारी गरिएको छ ।”  

उहाँका अनुसार खोप लगाइएपछि पशुपालक किसानले आफ्नो जनावर रोगबाट सुरक्षित भएको अनुभूति गर्ने छन् । यसले दूध, मासु उत्पादनमा वृद्धि गर्ने मात्र होइन, पशुधनमा आधारित परिवारको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । रेविजविरुद्धको खोप भने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा बाह्रैमहिना किसानलाई निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था रहेको छ । रासस