• १७ असोज २०८२, शुक्रबार

कर्णालीको अर्गानिक स्याउ उपभोक्ताको पहिलो रोजाइ

blog

नेपालगन्जको धम्बोझी चोकमा कर्णालीको स्याउ बिक्री गर्दै महिलाहरू । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, असोज १७ गते । आफ्नै देशमा उत्पादन भएको कर्णालीको स्याउ अहिले आम उपभोक्ताको पहिलो रोजाइ बनेको छ । बाँकेको नेपालगन्ज, कोहलपुरदेखि सुर्खेत, दाङ र  बुटवलका बजारसम्म अहिले जताततै कर्णालीको स्याउले बजार ओगटेको छ ।

चार दशकदेखि नेपालगन्जमा कर्णालीको स्याउ थोक बिक्री गर्दै आउनु भएका व्यापारी प्रेमलाल साहु तेलीका अनुसार अहिले कर्णालीको स्याउले बजारमा दबदबा जमाएको छ । उहाँका अनुसार सुर्खेत, नेपालगन्ज, धनगढी, बुटवल लगायतका सहरमा जुम्लाको स्याउ खोज्दै ग्राहक आउने क्रम बढ्दै गएको छ ।

नेपालगन्जमा ग्रेडिङ गरिएको कर्णालीको स्याउ प्रतिकिलो अधिकतम १६० रुपियाँ किलोमा थोकमा बिक्री हुने गरेको छ भने ग्रेडिङ नभएको न्यूनतम १०० रुपियाँमा पाइन्छ । आकार र गुणस्तरअनुसार १०० देखि १६० रुपियाँमै व्यापारीले खरिद गरी पश्चिमका विभिन्न सहरमा बिक्री गर्ने गरेका छन् ।

विगतमा भारतीय र चिनियाँ स्याउले भरिने बजार अहिले कर्णालीको अर्गानिक स्याउले ओगटेको छ । सडक विस्तार र सहज ढुवानीका कारण जुम्लाको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउले नेपाली बजारमा कब्जा जमाएको छ । व्यापारी साहुका अनुसार साउनदेखि असोजसम्म पश्चिम नेपालका सहरहरुमा कर्णालीको स्याउले विदेशी स्याउलाई विस्थापित गर्ने गरेको छ ।

उता, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष  टंक धामीले कर्णालीको स्याउको बजार विस्तार हुनुले किसान मात्र नभई स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाएको बताउनुभयो । उहाँले गुणस्तर र ढुवानीमा अझ ध्यान दिन सके उत्पादन र बिक्री दुवै गुणात्मक रूपमा बढ्ने बताउनुभयो ।

नेपालगन्जका धम्बोझी, कारकाँदो लगायतका चोकमा अहिले कर्णालीका महिलाहरू पंक्तिबद्ध भएर स्याउ बिक्री गरिरहनु भएको छ। अस्थायी रूपमा बस्ने महिला वा विद्यार्थीले पनि चाडपर्वको सिजनमा स्याउ बिक्री गरी राम्रो आम्दानी गर्ने गरेको पाईएको छ । 

जुम्लाकी शीतली रोकायले नेपालगन्जमा दैनिक २५–३० किलोसम्म स्याउ बेचेर दशैँ–तिहार मनाउने खर्च जुटाएको बताउनुभयो । उहाँका अनुसार कर्णालीको स्याउ चाडपर्वमा कोसेलीको रूपमा घरघर पुग्ने गरेको छ । 

आयातित स्याउभन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले उपभोक्ताले तीज, दशैँ, तिहारमा उपहारस्वरूप दिन लैजाने गरेका छन् ।

गत वर्ष नेपालगन्जबाट करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएकोमा यो वर्ष पाँच हजार क्विन्टलसम्म पुग्ने अनुमान गरिएको छ । 

थोक व्यापारी साहुका अनुसार उत्पादन बढाउने र चिस्यान केन्द्र निर्माण गर्ने हो भने नेपाली स्याउले कम्तीमा ६ महिना देशकै माग धान्ने सम्भावना छ ।