• २५ असोज २०८२, शनिबार

सबैतिर कडा निगरानी

blog

सुरक्षा योजना अन्तर्गत सञ्चालन गरिएको यात्रु सहायता कक्ष । तस्बिर : सिराज खान

नेपालगन्ज/तौलिहवा समाचारदाता

नेपालगन्ज, असोज १० गते । दसैँतिहार, लक्ष्मी पूजा र छठजस्ता ठुला चाडपर्व सुरक्षित र शान्तिपूर्ण ढङ्गले मनाउन बाँके र कपिलवस्तुमा विशेष सुरक्षा योजना लागु गरिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिने दुवै जिल्लामा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी गस्ती, निगरानी र यातायात जाँचलाई कडा बनाइएको छ ।

बाँकेमा एक हजार प्रहरी 

नेपालगन्ज समाचारदाता सिराज खानका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना अन्तर्गत एक हजार एक सय प्रहरी परिचालन गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज, कोहलपुर, खजुरालगायतका क्षेत्रमा चोरी, लुटपाट जस्ता घटना हुन नदिन मोबाइल र पैदल गस्ती तीव्र पारिएको छ । आवश्यकता अनुसार ड्रोनमार्फत निगरानी सुरु गरिएको प्रहरीले दाबी गरेको छ ।

भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन जमुनाह नाका, नेपालगन्ज र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । प्रहरीका अनुसार होहल्ला गर्ने, सार्वजनिक सुरक्षामा खलल पु-याउनेलाई कडा कारबाही गरिने छ । सवारीसाधनमा निगरानी कडा पारिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा जाँच गरिरहेका छन् । ट्राफिक नियमविपरीत गतिविधि, तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु ओसार्ने, मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई कारबाही गरिने जनाइएको छ । 

जिल्ला ट्राफिक प्रहरी प्रमुख पुष्करराज पन्तका अनुसार बाँकेमा ७५ जना ट्राफिक प्रहरी खटाइएको छ । उहाँले लामो दुरीका सवारीसाधनमा दुई चालक छन् कि छैनन् भन्नेसमेत जाँच भइरहेको जानकारी दिनुभयो ।

कपिलवस्तुमा एक हजार सात सय 

तौलिहवा समाचारदाता नारद कोहारका अनुसार सुरक्षाका दृष्टिले अति संवेदनशील मानिने कपिलवस्तुमा चाडपर्वलक्षित संयुक्त विशेष सुरक्षा योजना २०८२ लागु गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार जिल्लाभित्र एक हजार नेपाल प्रहरी, पाँच सय सशस्त्र प्रहरी र अन्य जिल्लाबाट पठाइएका दुई सयभन्दा बढी सुरक्षाकर्मी गरी एक हजार सात सयभन्दा बढी परिचालन गरिएको छ । प्रजिअ तामाङका अनुसार धार्मिक वा साम्प्रदायिक विवाद, मूर्ति विसर्जनका व्रmममा हुने सम्भावित झडप, पटाका तथा विस्फोटक पदार्थको अवैध ओसारपसार, चोरी, लुटपाट, जुवातास, मादक पदार्थ तथा लागुऔषध सेवन, सवारी दुर्घटना र कालोबजारी नियन्त्रणमा विशेष ध्यान दिइएको छ ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले हालै जेनजी आन्दोलनका व्रmममा कैदीबन्दी कारागारबाट फरार भएकाले थप सतर्कता अपनाइएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा शान्तिसुरक्षामा कमी नहुने दाबी गर्नुभयो । प्रजिअ तामाङले नेपाली सेनाले आफ्नो वार्षिक तालिका अनुसार गस्ती सञ्चालन गर्ने र सीमा क्षेत्रमा निगरानी बढाइने जानकारी दिनुभयो ।