• २९ मङ्सिर २०८२, सोमबार

मध्यपहाडी लोकमार्ग लथालिङ्ग

blog

मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको याङवाराक–ओयाम खण्ड । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज १० गते  । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको मध्यपहाडी लोकमार्ग लथालिङ्ग छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण यो राजमार्ग अन्तर्गत पाँचथरको थर्पुदेखि चिवाभन्ज्याङसम्मको ५१ किलोमिटर क्षेत्र लाथलिङ्ग भएको हो । 

विभिन्न तीन खण्डमा सडकको कालोपत्रे गर्ने जिम्मेवारी लिएको रोशन शिवशक्ति जेभी र सन्तोषी शिवशक्ति जेभीले भुक्तानी नदिएका कारण पछिल्लो पटक गत असारमा काम गरिरहेका १५० कामदार काम छोडेर हिँडेका थिए । यो सडकको सुरुवाती विन्दुमै निर्माण व्यवसायीको लापर्बाहीका कारण काम अघि बढ्न नसकेको हो । 

हालसम्म सो सडक अन्तर्गतको पहिलो खण्डमा २७, दोस्रो खण्डमा १४ र तेस्रो खण्डमा ४९ प्रतिशत मात्रै काम भएको छ । यो सडक २०७८ सालमा पूरा गर्ने गरी निर्माण व्यवसायी र सरकारबिच सम्झौता भएको थियो । सरकारले निर्धारित समयमै काम नसकेको कम्पनीलाई पटक पटक गरेर तीन पटक म्याद थपेको थियो । तेस्रो पटक थपिएको कामको म्याद आउँदो मङ्सिरमा सकिँदै छ । 

सन्तोषी शिवशक्ति जेभीका कारण दोस्रो खण्ड झनै लथालिङ्ग छ । पहिलो र तेस्रो खण्डमा पनि वर्षामा गाडी गुड्ने सम्भावना अत्यन्तै न्यून रहेको याङवाराक–१ का वडा सदस्य नरबहादुर गुरुङ बताउँछन्  । 

सडक निर्माणको निरन्तर अनुगमन 

गरिरहनुभएका गुरुङका अनुसार निर्माण व्यवसायीले कामदारलाई झन्डै एक करोड रुपियाँ पारिश्रमिक भुक्तानी दिन बाँकी छ । निर्माण व्यवसायी सुरेन्द्र पाठकले पटक पटक काम अगाडि बढाउने प्रतिबद्धता जनाए आवश्यकता अनुसारका औजार, उपकरण, यन्त्र र जनशक्ति नखटाएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय फिदिमले जनाएको छ । 

याङवाराक–४, दारिम्बादेखि ओयाम वडा नम्बर २ फलैँचा र वडा नम्बर १ च्याङथापु हुँदै सिक्किमसँगको सीमावर्ती नाका चिवाभन्ज्याङ जोड्ने यो सडकको काम चाँडो सक्न पटक पटक व्यवसायीले नटेरेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुख दीपेन्द्र पाण्डे बताउनुहुन्छ । सडक नबन्दा पाँचथरको याङवाराक गाउँपालिका वडा नम्बर १, २ र ३ हुँदै छिमेकी जिल्ला ताप्लेजुङको सिदिङ्वा गाउँपालिका १ र २ का नागरिकलाई सास्ती छ । वर्षामा यो ठाउँमा खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ हुनेमा स्थानीय चिन्तित छन्।। 

यसअघि जिल्ला प्रशासन कार्यालय आयोजना कार्यालय हुँदै मन्त्रीस्तरमा यो सडकको ठेक्का तोड्न छलफल भइरहे पनि त्यसले सार्थकता पाएको छैन । ठेक्का तोडिएपछि कसरी काम गर्ने भन्ने विषयमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबिचको तादात्म्य नमिल्दा पनि सडकको यो अवस्था भएको हो । 

दारिम्बादेखि चिवाभन्ज्याङसम्मको ५१ किलोमिटर सडक कालोपत्रे गर्न दुई वर्षभित्र सक्ने गरी एक अर्ब २५ करोड रुपियाँ लागतमा काम सक्ने गरी २०७६ माघमा शिवशक्ति निर्माण सेवाले सरकारसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का लिएको छ वर्षसम्म यो सडकमा अपेक्षित प्रगति हुन सकेको छैन । यहाँको ओयामखोला, ओसामखोला र फलामखोलाका पुलसँगै ठाउँ ठाउँका खोल्सामा लगाइएका कलभर्ट र कज्वे गत वर्षको असार २ गते नै बगेका थिए ।

यी खोला खोल्सामा पानी नपर्दा जेनतेन गाडी र मान्छे तर्न सके पनि पानी पर्दा मान्छे तर्न र गाडी तार्ने कल्पनासम्म गर्न सकिन्न । वर्षा सुरु हुनुअघि करिब दुई घण्टामा पार गर्ने थर्पुदेखि च्याङथापुसम्मको २१ किलोमिटर सडक पार गर्न आजकल दिनभर लाग्ने गरेको चालक जितेन सुब्बाले बताउनुभयो । 

पूर्वमा पॉचथरको चिवाभन्ज्याङबाट पश्चिमको बैतडीस्थित झुलाघाटसम्म जोड्ने मध्यपहाडी राजमार्गको पॉचथर खण्डमा ११४ किमी पर्छ, जसमध्ये तमोर नदीदेखि दारिम्बासम्म कालोपत्रे भइसकेको छ । 

दारिम्बा–चिवाभन्ज्याङ खण्डमा काम ढिला सुरु भए पनि सरकारले मध्यपहाडी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेर निर्माण थालेको १७ वर्ष पुगिसकेको छ । 

सरकारले कामको प्रगति नै नहेरी यसअघि तीन पटकसम्म म्याद थप गरेर ढिलासुस्ती गर्ने ठेकेदारलाई प्रश्रय गरेको गाउ‘पालिका अध्यक्ष योङ्याको आरोप छ । योङ्या भन्नुहुन्छ, “कामलाई गति दिने हो भने दारिम्बादेखि सुरु गर्नु पर्छ । निर्माण व्यवसायीले चिवाभन्ज्याङदेखि काम थालेर उल्टो बाटो हिँडे, पुग्दो कामदार र उपकरण खटाएको छैन, काम नगर्ने कम्पनीलाई कारबाही गर्नुको साटो पटक पटक म्याद थपेर पुरस्कृत गरियो ।” निर्माण व्यवसायी सुरेन्द्र पाठक भने  कोरोना कहर, नाकाबन्दी र बन्द हड्ताल आदि कारण कामले गति लिन नसकेको जिकिर गर्नुहुन्छ ।