• २२ असोज २०८२, बुधबार

मूर्ति स्थापनासँगै सहरबजार झकिझकाउ

blog

पूजाआराधनाका लागि नेपालगन्जको सदरलाइनमा राखिएको दुर्गाको मूर्ति । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज १० गते  । बडादसैँको सुरुवातसँगै नेपालगन्ज सहर दुर्गाभगवतीको मूर्तिले झकिझकाउ भएको छ । सहरका चोक चोक तथा गल्ली गल्लीमा मूर्ति स्थापनासँगै लाइट र ध्वजापताका लगाएर झिलिमिलीसमेत गरिएको छ । 

घटस्थापनाको दिनबाट उपमहानगरका चोक चोक र गल्ली गल्लीमा दुर्गा मूर्ति स्थापना गरिएका हुन् । नगरका गल्ली गल्लीमा सजावट गरेर चहलपहल बढाइएको छ । बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर, राँझा  र खजुरालगायतमा गरेर करिब चार सयको हाराहारीमा दुर्गाका मूर्ति राखिएको नेपालगन्जका अगुवा समाजसेवी नन्दलाल वैश्यले बताउनुभयो । एउटै टोलमा पनि तीन वटासम्म मूर्ति स्थापना गरिएको उहाँले बताउनुभयो । 

बिहानदेखि अबेर रातिसम्म हुने भजनकीर्तनले नेपालगन्ज नगर अहिले गुल्जार बनेको छ । दसैँको बेला दुर्गाभगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन यहाँ बढेको छ । घटस्थापनाका दिनदेखि हरेक दिन राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गाभगवतीको पूजाआराधना गर्ने गरिएको स्थानीय अर्का समाजसेवी वसन्त कनोजियाले बताउनुभयो । उहाँका अनुसार घटस्थापनाको दिन स्थापना गरिएका दुर्गा मूर्तिको आँखामा पट्टी बाँध्ने चलन छ । सप्तमीका दिन मात्र पट्टी खोल्ने गरिन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गाभवानीले मारेका कारण सोही दिन मूर्तिको आँखा खोल्ने परम्परा रहेको छ । 

घटस्थापनाको दिन सजाइएका मूर्ति विजयादशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन राप्ती नदीमा लगेर विसर्जन गर्ने गरिएको छ । घटस्थापना सुरु हुनुअघि नेपालगन्जमा मूर्तिकारलाई भ्याइनभ्याइ हुने गरेको छ । सहरमा मूर्तिको माग बढ्दै गएकाले सीमित मूर्तिकारलाई भ्याइनभ्याइ हुने गरेको हो । केही वर्षअघिसम्म सबै मूर्ति भारतबाट ल्याइने गरिएकोमा पछिल्लो केही समय यता आएर नेपालगन्जमा नै अधिकांश मूर्ति बनाउन थालिएको छ तर मूर्तिका लागि चाहिने सामान भने भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको मूर्तिकारको भनाइ छ ।