• ५ असोज २०८२, आइतबार

पालिकास्तरमै राष्ट्रिय परिचयपत्र वितरण

blog

स्थानीयलाई राष्ट्रिय परिचयपत्र वितरण गरिदै ।

प्रतीक इच्छुक शर्मा

सल्यान, असोज ५ गते । सल्यानमा पालिकास्तरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । आइतबारदेखि कुमाख गाउँपालिकाबाट सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने भएको हो । 

यस क्रममा पालिका भित्रका अशक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूको पनि परिचयपत्र बनाइने जिल्ला प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर अर्जुन रावतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयमै बनाएर राखिएका परिचयपत्र स्वयम् व्यक्तिको उपस्थितिमा नै कुमाख गाउँपालिकाको कार्यालय मार्फत वितरण गरिने भएको छ । 

स्थानीय पूर्णबहादुर राना र भीमबहादुर रानालाई जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले परिचयपत्र वितरण  हस्तारण गरी परिचयपत्र वितरण कार्यक्रमको सुरुवात गर्नुभयो । असोज १२ गतेसम्म कुमाख गाउँपालिका भित्रका ज्येष्ठ तथा अपाङ्ग अशक्त व्यक्तिहरूको पनि परिचयपत्र बनाइने एमआईएस अपरेटर मेघराज रावतले जानकारी दिनुभयो ।

दुर्गम भेगमै शिविर राखी सेवा गर्न गरिएको प्रयास सकारात्मक भएको सरोकारवालाको भनाइ छ । कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार सोनीले पालिकाभित्रका ७ वटै वडाका सेवाग्राहीलाई पालिका केन्द्र रागेचौर वाटै सेवा दिइने भएकाले सहभागिता लागि आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गाउँटोलमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई १० वटै पालिकामा गरिने वताउनुभयो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्र लिन आउँदा धेरै खर्च लाग्ने भएकाले स्थानीय तहको समन्वयमा स्थानीय स्तरमा शिवरको रुपमा वितरण कार्य गरिनेछ । 

कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, उपाध्यक्ष लालबहादुर रावतलगायत जिल्लाका सुरक्षा निकायका प्रमुख तथा नेपाल पत्रकार महासंघका अध्यक्ष डिल्लीराज रावतले मन्तव्य राख्नुभएको थियो ।