काठमाडौँ, असोज ५ गते । नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् ।
विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेस गर्नुहुने छ ।
स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुँदै छ । भिषाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्व स्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् ।
नेपाल नम्बर वान सुमन कुलुङ एसिया वरियतामासमेत एक नम्बर खेलाडी हुनुहुन्छ । महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरमा हुनुहुन्छ ।
चारै जना खेलाडीले सिङ्गल लामो दुरीको ट्रेल रनको इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको म्यानेजर प्रिती खत्रीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खेलाडी छनोट गरिएको बताउनुभयो ।