• ५ असोज २०८२, आइतबार

अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाललाई छैटौँ स्थान

blog

चाल चल्दै नेपालका पुरुषोत्तम सिलवाल ।

काठमाडौँ, असोज ५ गते । रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । 

बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ ।

रसियाकै बुयाटिया टिमले १८ अङ्क जोड्दै दोस्रो, फिलिपिन १५.५ अङ्कसहित तेस्रो, थाइल्यान्ड १५ अङ्क जोड्दै चौथो, रसियाको टाइभाको टोली १४.५ अङ्कसहित पाँचौँ र १२.५ अङ्क बनाएको नेपाल छटौँ स्थानमा रह्यो । यस्तै म्यानमारले सातौँ, भारतले आठौँ र लावसले नवौँ स्थान बनायो । 

प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै हङ्गेरीका शीर्ष वरियता खेलाडी जिएम स्जुगिरोभ सनानले एकल आठ अङ्क जोड्नुभयो । रसियन ग्रान्ड मास्टर साइडाइपो झम्सारन ७.५ अङ्क र रसियाकै जिएम सोगडीझिएफ रोमनले ६.५ अअङ्क बनाउनुभयो । 

नेपालका सिएम पुरुषोत्तम सिलवालले आफ्नो टोलीका लागि पाँच अङ्कको योगदान दिनुभयो । नेपाली महिला खेलाडी सिन्दिरा जोशीले तीन र एमेच्योर खेलाडी शैलेन्द्र न्यौपानेले ४.५ अङ्को योगदान दिनुभयो । 

प्रतियोगिताको अर्को अन्तर्राष्ट्रिय पाँच मिनेत तीन सेकेन्ड इनक्रिजमेन्ट रहने ब्लिट्ज खेल आइतबारबाट देखि सुरु हुने छ । रसियन चेस फेडरेसनसँग दुई देशीय दौत्य सम्बन्ध कायम गर्न रुस पुगेका नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले युवा खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति सन्तोष व्यक्त गर्नुभएको छ । 

अध्यक्ष महर्जनले नेपालका सिएम पुरुषोत्तम सिलवालको खेल परिकृष्ट हुँदै गइरहेको जानकारी गराउँदै चौथो र छैटौँ वरियताका आइएम तथा जिएमलाई पराजित गर्नु असाधारण रहेको पनि बताउनुभयो । 

महासङ्घले नेपालमा आइएम बन्ने सम्भावना भएका युवा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको छ । विगतमा पनि विवेक थिङ, रुपेश जयसवाल र सौरभ प्रधानलाई रसियाको युनिभर्सिटीमा बुद्धिचाल खेल अध्ययनका लागि पाँच वर्ष छात्रवृत्ति प्रदान गरिएको थियो ।