रमेश विश्वकर्मा
गुल्मी, असोज ५ गते । गुल्मीको तम्घासमा पुस्तक पसल नभएको समयमा पनि पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित पुस्तकालय सञ्चालनमा ल्याउन लागिएको थियो । पुस्तकालय सञ्चालनका लागि आवश्यक स्रोत साधनको समेत अभाव रहेको त्यो समयमा यस जिल्लामा पठन संस्कृतिको विकास गर्नुपर्छ भनेर वि.सं. २०२५ साल कात्तिक २० गते ‘किरण पुस्तकालय’ स्थापना गरिएको हो ।
झण्डै ५७ वर्ष लामो इतिहास बोकेको यस पुस्तकालय गुल्मीको परिचय समेत बनेको छ । वि.सं. २०२५ साल कात्तिक २० गते गाईगोठबाट स्थापना भएको यस ‘किरण पुस्तकालय’ जिल्लाकै एउटा महत्त्वपूर्ण इतिहासका रूपमा रहेको छ ।
तम्घासको बजारमा पुस्तक पसलहरू नभएको समयमा पनि यहाँका नागरिकमा पठन संस्कृतिको विकास गर्नुका साथै समाजमा शिक्षाको आलोक फैलाउने उदेश्यसहित पुस्तकालयको स्थापना गरिएको थियो । घरमा कोठा नपाएपछि तत्कालीन लक्ष्मीपुर गाउँपञ्चायत–१ मा रहनुभएका पण्डित देवीदत्त पन्थीको गाईगोठको एउटा कोठाबाट यस पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।
आफूसँगका समकालिन साथीसँग मोहर सङ्कलन गरी गाईगाेठबाट किरण पुस्तकालयको सुभारम्भ गरिएको यस किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीले बताउनुभयो । १३० वटा पुस्तक सङ्कलन गरी पुस्तकालयको स्थापना गरिएको हो । “पुस्तकालयको स्थापनापछि नियमित रूपमा पुस्तकालय खुल्न थाल्यो । त्यो समयमा पुस्तक पढ्नका लागि मानिसहरू हुरुक्क हुन्थे । तर, यहाँ प्रर्याप्त पुस्तक नभएको हुँदा हामीले पाल्पा, बुटवल, काठमाडाैँ, बनारस, गोरखपुर लगायतका विभिन्न ठाउँमा पुगेर पुस्तक किन्न जानुपर्थ्यो,” उहाँले भन्नुभयो ।
तत्कालिन समयमा एक मोहरमा वर्षभरी पढ्न पाउने गरी सदस्यता बन्न सकिन्थ्यो । पुस्तकहरूको पनि निकै अभाव रहेको थियो । पुस्तकालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सदस्य समेत बनाएर केही न्यूनतम शुल्क लिएर पुस्तक ल्याउने लैजाने अनि पढ्ने व्यवस्था मिलाइएको थियो । पाठकको माग अनुसार चन्दा सङ्कलन गरेर पुस्तकहरू ल्याउने गरिएको थियो ।
नयाँ–नयाँ पुस्तकहरू ल्याउँदा पुस्तकालयप्रति पाठकहरूको आकर्षण पनि बढ्दै गएको अध्यक्ष पन्थीले बताउनुभयो । पाठकहरूले पढेका कुराहरूको जानकारी लिनका लागि पुस्तकालयले विभिन्न समयमा गोष्ठीहरु सञ्चालन गर्दै आएको थियो । पुस्तकालयले पाठकहरूको आवाजलाई ‘हाम्रो पुरुषार्थ’ नामक साहित्यिक पत्रिकाको माध्यमबाट लेख रचनाका रूपमा विसं २०३० सालदेखि बाहिर ल्याउन थाल्यो ।
पुस्तकालयले नेपाली भाषा साहित्यको विकासका लागि ‘हाम्रो पुरुषार्थ’ प्रकाशन गरेको हो । पुस्तकालय स्थापना पश्चात् विसं २०३० सालदेखि वार्षिक रूपमा ‘हाम्रो पुरुषार्थ’ प्रकाशन प्रकाशन गर्दै आइरहेकोमा विसं २०३६ वैशाखबाट अर्धवार्षिक र विसं २०७० कात्तिक देखि त्रैमासिक रूपमा प्रकाशन गर्दै आइरहेको उहाँले बताउनुभयो । हालसम्म १०६ अङ्क प्रकाशन भएका छन् ।
पुस्तकालय अहिले ‘हाम्रो पुरुषार्थ’ को १०७ अङ्क प्रकाशनको तयारीमा रहेको किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले बताउनुभयो । उहाँका अनुसार ‘हाम्रो पुरुषार्थ’ का विभिन्न २१ वटा विशेषाङ्कहरू प्रकाशित भएका छन्।
चार करोड रुपियाँभन्दा बढी लगानीमा यस किरण पुस्तकालयको अहिले आफ्नै सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण भएको छ । हालसम्म यस पुस्तकालयमा १२ हजार ४५८ पुस्तकहरु सङ्ग्रह गरिएको पुस्तकालयको तथ्याङ्कमा उल्लेख छ । दैनिकजसो २५–३० जना पाठकहरू पुस्तकालयमा आउने गरेका छन् । अहिले एक हजार रुपियाँमा वर्षभरीका लागि पाठक बन्न सकिन्छ । पुस्तक पढ्नका लागि पाठकहरूको बेग्र इच्छा भएपछि सहजताका लागि पुस्तकालय खोलिएको हो ।
यस पुस्तकालयमा अहिले नेपाली, अङग्रेजी, हिन्दी भाषासँग सम्बन्धित संस्कृति साहित्य, विज्ञान इतिहास, राजनैतिक शास्त्र, धर्मदर्शन, पुराण लगायतका पुस्तकहरू सङ्ग्रह गरिएको छ । किरण पुस्तकालयले समाजमा ज्ञान प्रसार गर्न महत्त्वपूर्ण भूमिका खेलेको शोधार्थी गणेश श्रीपालीले बताउनुभयो । पठन संस्कृतिको विकासमा यसको योगदान देशकै लागि उदाहरणीय रहेको भन्दै उहाँले पाठकहरूलाई अध्ययनसँगै सिर्जनात्मक सोचमा प्रेरित गर्न ठुलो सहयोग गरेको बताउनुभयो ।
सूचना प्रविधि र विभिन्न सामाजिक सञ्जालको पहुँचमा रहेको अहिलेको युवा पुस्तामा पठन संस्कृति र अध्ययनशीलताको अभाव देखिएको अवस्थामा किरण पुस्तकालयले पुस्तक अध्ययनमा नयाँ पुस्तालाई प्रेरित गर्नुका साथै पठन संस्कृतिलाई प्रवद्र्धन गरेको लुमिबनी बौद्ध विश्वविद्यालयका सिनेटर पदमप्रसाद पाण्डेले बताउनुभयो । प्रत्येक स्थानीय तहमा एक सामूदायिक पुस्तकालय सञ्चालन गर्न सकेमा पनि पठन संस्कृतिको विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो । यस पुस्तकालयले विभिन्न कविहरूको जन्मजयन्ती नियमित रूपमा मनाउने, पुस्तकहरू प्रकाशन गर्ने, साहित्यिक सभा, सम्मेलन र गोष्ठी आयोजना गर्दै आइरहेको छ ।
इतिहास, संस्कृति, धर्म, दर्शन र साहित्यसँग सम्बन्धित कृतिहरू समेत प्रकाशन गर्दै आइरहेको छ । पुस्तकालयबाट ‘जानकी साहित्य पुरस्कार’ नियमित रूपमा वितरण गरिएको छ । पुस्तकालयमा इ–लाइब्रेरीको पूर्वाधार तयार गर्ने क्रममा कम्प्युटर तालिमको व्यवस्था गरिएको छ । अहिले १० वटा कम्प्युटर रहेका छन् । पुस्तकालयमा हालसम्म १८ जना संरक्षक सदस्य, १७ जना विशिष्ट सदस्य र १४५ आजिवन सदस्य बन्नुभएको छ ।
१३ आनाको जग्गामा अहिले किरण पुस्तकालयको सुविधा सम्पन्न अत्याधुनिक भवन बनेको छ । सदस्यता शुल्क, अक्षकोष, पुरस्कार संस्थापक, घर भाडाबाट स्रोत व्यवस्थापन गरिएको छ । न्यून पारिश्रमिकमा तीन जना कर्मचारी यस पुस्तकालयमा स्वयंसेवकको रूपमा कार्यरत हुनुहुन्छ ।