• ५ असोज २०८२, आइतबार

नेपालगन्जमा दुई हजार बढी गोलीका खोकासहित दुई पक्राउ

blog

चोरले बोकेको बोराबाट बरामद भएका गोलीका खोकाहरू । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज ५ गते । एकदिन अघि पर्चा टाँसेर चोरी गर्ने धम्की दिई चोरी गर्न आएका दुई जना चोरलाई दुई हजार बढी गोलीका खोकासहित नेपालगन्जमा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

नेपालगन्ज-३, एकलैनीमा आइतबार बिहान तीन बजे चोरी गर्न आएका पाँच जनाको समुहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा एक जना पक्राउ परेको र अन्य भागेको वडा नम्बर तीनका वडाध्यक्ष अय्युब सिद्दिकीले बताउनुभयो । 

उहाँले एक जनालाई पक्राउ गरेर स्थानीयले केरकार गरिरहेकै बेला बिहान एक जना थप व्यक्ति बोरा बोकेर आफ्नो साथीको अवस्था बुझ्न त्यहाँ आएपछि उनलाई पनि पक्राउ गरिएको बताउनुभयो ।  

ती व्यक्तिले बोकेको बोरा खोलेर हेर्दा त्यसमा दुई हजार ९७ वटा गोलीका खोका र केही औजारहरू भेटिएको वडाध्यक्ष सिद्दिकीले बताउनुभयो । स्थानीयले नियन्त्रणमा लिएका दुवै जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जमा बुझाइएको छ ।

नेपालगन्ज वडा ३ मा एक दिनअघि चोरी गर्ने चेतावनी दिँदै त्यसअघि विद्युतको पोलमा लागेका लाइट फोड्ने चेतावनीसहितको पर्चा टाँस गरिएको थियो । सोही धम्की अनुसार उनीहरूले  टोलमा पुगेर बत्ती फोड्न लागेका थिए । 

केही दिनदेखि टोलमा रातभरि नियमित गस्ती गर्दै आएका स्थानीयले आइतबार बिहान चोर पक्राउ गर्न सफल भएका हुन् । पक्राउ परेका चोरमध्ये एक जना बर्दियाको तथा अर्को भारत बाबागन्जको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले स्थानीयले नियन्त्रणमा लिएर बुझाएका चोर र उनीहरूबाट बरामद भएका गोलीका खोकाहरूको बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले यति धेरै गोलीका खोकाहरू कहाँबाट र कसरी उनीहरूले पाए भन्ने बारेमा अनुसन्धान तथा सोधपुछ भइरहेको जनाउँदै उनीहरूका थप साथीका बारेमा पनि खोजी भइरहेको बताउनुभयो । 

करिब गत दुई साता याता नेपालगन्जका विभिन्न स्थानमा चोरी गर्ने भनेर धमकी दिँदै हिन्दी भाषामा कम्प्युटरबाट प्रिन्ट गरिएका पर्चा र पम्पलेटहरू लगाउने क्रम जारी छ । 

स्थानीयवासीले चोरको डरले गत केही दिनदेखि आआफ्नो टोलमा रातभर जाग्राम बसेर गस्ती गर्दै आएका छन् । प्रहरीले गस्ती बढाएर सुरक्षा प्रदान गर्नुपर्ने समेत माग उनीहरूले गर्दै आएका छन् ।