रामकृष्ण बोहरा
बागलुङ, असोज ५ गते । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त विभिन्न जिल्ला पार्टी कार्यालयहरूको निरीक्षण गर्नुभएको छ ।
अधिकारीले एमाले पर्वत, बागलुङ र म्याग्दी जिल्लाका पार्टी कार्यालयहरूको निरीक्षण गर्नुभएको हो । सो क्रममा एमाले नेता पदम गिरीको पर्वत सदरमुकाम कुश्मा बजारस्थित निजी घरको पनि अधिकारीले निरीक्षण गर्नुभयो । जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते पार्टी कार्यालय र गिरीको घरमा तोडफोड र आगजनी गरिएको थियो ।
पार्टी कार्यालयहरूको निरीक्षणपछि एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता समेत रहनुभएका अधिकारीले जेनजी आन्दोलनको नाममा केही राजनीतिक दलका सङ्गठित सदस्यहरूको घुसपैठ भएको आरोप लगाउनुभयो । ‘‘कतिपय पार्टीले राजनीतिक प्रतिशोध साध्न आफ्ना सङ्गठित कार्यकर्ताहरू परिचालन गरेर एमालेसहितका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको पाइयो’’ अधिकारीले भन्नुभयो ।
तोडफोड र आगजनीजस्तो अपराध जेनजीले गरेको होइन, भन्ने प्रष्टै रहेको अधिकारीको भनाइ छ । ‘‘घटनाको बास्तविक प्रतिवेदन आएपछि सबै कुरा खुल्दै जान्छ’ उहाँले भन्नुभयो, ‘‘पार्टी कार्यालयहरू ध्वस्त भए पनि कार्यकर्ताको मनोबल ध्वस्त हुन दिँदैनौ ।’’ पार्टीका नेता तथा कार्यकर्तालाई भेटेर धैर्य रहन र पार्टी सङ्गठनमा लागिरहन अधिकारीले निर्देशन दिनुभएको छ । उहाँले पार्टीको बैठकबाट समीक्षा गर्ने बताउनुभयो ।
‘‘पार्टीको बैठक बस्छौं, कमी कमजोरी भए समीक्षा गर्दै आत्मआलोचना हुने छ’’ अधिकारीले भन्नुभयो । कार्यकर्ताहरू राजनीतिक लयमा आइसकेको उहाँको दाबी थियो । जेनजीले उठाएका सुशासनको एजेन्डामा पार्टी सहमत भएको र सार्वजनिक पदमा बसेकाहरूको सम्पत्तिको छानबिन गर्ने विषय सार्वजनिक चासोको कुरा भएको अधिकारीको भनाइ छ ।
नेता अधिकारीलाई एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, बागलुङ एमाले अध्यक्ष हीराबहादुर केसी, म्याग्दी एमाले अध्यक्ष बालकृष्ण सुवेदी र निवर्तमान सांसद पदम गिरीले पार्टी कार्यालयमा भएको क्षतिको बारेमा जानकारी गराउनुभएको थियो ।