पर्वत, असोज ५ गते । पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन् । विसं २०५८ मा उक्त मार्ग खोलिएको हो । त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो ।
कुनै पनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले सडक भत्काएको थियो । कोरुङ्गा र दोबाटोबाट खसेको पहिरो पानी खोल्सा सडक खण्डमा आएर करिब दुई किलोमिटर सडक बगाएको देउपुरका पूर्व वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिनुभयो ।
पहिरोले क्षतिग्रस्त सडकमा सवारी साधन चलाउन सकिने अवस्था थिएन । वडा नं १, २ र ३ का करिब चार सय जनाले श्रमदान गरेका थिए । “गाउँलेले झण्डै चार लाख बराबरको श्रमदान गरेका छन्”, उहाँले भन्नुभयो ।
सडक मर्मत भएसँगै चाडवाडको बेला गाउँमा आउनेजाने यात्रुलाई सहज हुने भएको छ । मोदी गाउँपालिका–१, २ र ३ लाई गाउँपालिकाको केन्द्र पातिचौर तथा पुष्पलाल मध्यपहाडी लोकमार्गमा जोड्ने मुख्य सडक नै अवरुद्ध भएको थियो ।
पहिरो नियन्त्रण गर्न यसअघि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत ३३ लाखको लगानीमा काम सुरु भएको थियो । तर काम नसकिँदै गत असारमा आएको पहिरोले सडक बगाएको थियो । रासस