• ५ असोज २०८२, आइतबार

दुई लाख राष्ट्रिय परिचयपत्र जलेर नष्ट

blog

जिल्ला प्रशासन कार्यालयमा आधा जलेका राष्ट्रिय परिचयपत्र । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज ५ गते । कैलालीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार फिल्डको एक लाख ६० हजार र जिल्ला प्रशासन कार्यालयमा रहेको ४० हजार राष्ट्रिय परिचयपत्रलाई आन्दोलनकारीले जलाएका छन् । 

छापिएका राष्ट्रिय परिचयपत्रहरू विभिन्न पालिकाको वडाबाट पनि वितरणको कार्य चलिरहेको थियो । जलेर नष्ट भएका परिचयपत्रहरू सरकारले पुनः छापेर पठाउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । 

“परिचयपत्र जले पनि विवरणहरू सुरक्षित छ” उहाँले भन्नुभयो, “जलेका परिचयपत्र सरकारले पुनः छापेर पठाउँछ ।” जिल्ला प्रशासन कार्यालयमा रहेको पुरानो भवनबाट राष्ट्रिय परिचयपत्रको काम हुँदैआएको थियो । 

राणाकालमा बनेको सो भवन आगजनीबाट नष्ट भएको छ । भवन नष्ट भएपछि राष्ट्रिय परिचयपत्रसहित त्यससँग सम्बन्धित कागजात, उपकरण जलेर नष्ट भएको जोशीले जानकारी दिनुभयो ।