प्रदिप पन्त
बागलुङ, असोज ५ गते । तोकिएको समयसिमा भन्दा छ महिना अगाडि बागलुङको रेश आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । काठेखोला गाउँपालिका–७ रेशमा पाँच शय्याको आधारभूत अस्पताल निमार्ण भएको छ । २०८१ साल साउनदेखि निमार्ण थालिएको काठेखोला गाउँपालिका–७ रेशको आधारभूत अस्पताल गत असारमा सम्पन्न भएको छ ।
२०८१ साउनदेखि २०८२ पुस महिनाभित्र निमार्ण सम्पन्न गर्ने सम्झौता भएको थियो । सङ्घीय सरकारको विशेष अनुदानमा तीन करोड ७४ लाखको लागतमा भवन निमार्ण भएको काठेखोला गाउँपालिका वडा नं.७ रेशका अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।
“निर्धारित समय भन्दा छ महिना अगाडि सम्पन्न भएको वडा र गाउँपालिकालाई जानकारी निमार्ण व्यवसायीले गराएको छ,” अध्यक्ष लामिछानेले भन्नुभयो, “अब आधारभूत अस्पताल निमार्ण व्यवसायीले गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।” १८ महिना भित्र निमार्ण सम्पन्न गर्नुपर्ने आधारभूत अस्पताल जुम्ली आरएस जेभीले एक वर्ष भित्र पूरा गरेको छ ।
निर्धारित समय भन्दा छ महिना अगाडि भवन निमार्ण गरिए पनि अन्तिम किस्तको रकम पाउन भने बाँकी रहेको निमार्ण व्यवसायी डिलबहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “झन्डै ५० लाख रुपियाँ भुक्तानी लिई बाँकी रहेको छ । गाउँपालिकाले भुक्तानी समयमा दिइ भवन बुझिलिए अस्पतालको सेवा सञ्चालन छिटो समेत हुने छ ।”
रेशमा आधारभूत अस्पताल निमार्णसँगै सेवा सुचारुको तयारी थालिएको छ । गाउँमा नै अस्पताल निमार्ण भएपछि उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको स्थानीय ताराप्रसाद गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “सामान्य उपचारको लागि सदरमुकाम जानुपर्ने बाध्यता थियो अब भने निकै सहज हुने छ ।”
आधारभूत अस्पताल निमार्णपछि काठेखोला गाउँपालिका, बा.न.पा ११ को रायडाँडा स्थानीयले स्वास्थ्य सेवा पाउने भएका छन् । अस्पतालमा मेडिकल अधिकृतसहितको सेवा दिइने भएको छ ।