साहारा लिम्बू
फुङलिङ, असोज ५ गते । ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मेरिङ्देन गाउँपालिका–२, सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको मृत्यु भएको हो ।
यस्तै अरिङ्गालको टोकाइबाट सोही ठाउँका १४ वर्षीय पेम्बा शेर्पा घाइते भएको स्थानीय सञ्चवीर लिम्बूले जानकारी दिनुभयो । शनिबार बिहान ७ बजेको समयमा उनीहरूले गुलेलीले कालो प्रजातिको अरिङ्गाललाई हानेको र सोही क्रममा अरिङ्गालले टोकेको लिम्बूले जानकारी दिनुभयो ।
घटनापछि तत्कालै सान्थाक्रा प्राथमिक स्वास्थ्य चौकी लगिएकोमा आइतबार बिहान २ बजे पेम्बा साङ्बुको ज्यान गएको लिम्बूले बताउनुभयो । मृतक शेर्पालाई शरीरका विभिन्न भागमा करिब ४५ वटाभन्दा बढी अरिङ्गालले टोकेको थियो ।
घाइते अर्का शेर्पालाई शरीरका ५ ठाउँमा टोकेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी भने भागेर ज्यान बचाउन सफल भएका थिए । घटनाका बारेमा प्रहरीलाई हालसम्म कुनै जानकारी नगराइएको स्थानीय लिम्बूले जानकारी दिनुभयो ।