• ३ असोज २०८२, शुक्रबार

नवलपरासीमा सरकारी संरचनामा तीन करोडभन्दा बढीको क्षति

blog

नवलपरासीको बर्दघाट नगरपालिकामा भएको आगजनी र तोडफोड । तस्बिर : बिकास अधिकारी

बिकास अधिकारी 
पश्चिम नवलपरासी, असोज ३ गते ।
आगलागी र तोडफोडका कारण पश्चिम नवलपरासीका सरकारी निकायमा तीन करोड बढीको क्षति भएको छ । जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि गठित क्षति मूल्याङ्कन समितिले तीन करोड ११ लाख बराबरको सरकारी संरचना र सवारी साधनमा क्षति भएको जनाएको छ ।

पाँच स्थानीय तहका कार्यालयसहित जिल्लामा १९ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । दुई पाङग्रे र चार पाङग्रे गरी पाँच दर्जन सवारी साधनमा तोडफोड र आगजनी भएको क्षति मूल्याङ्कन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिनुभयो ।

क्षति मूल्याङ्कन समितिले सरकारी कार्यालयमा भएको क्षति विवरण मात्र सङ्कलन गरेको छ । व्यक्तिगत तथा विभिन्न सङ्घसंस्थामा भएको क्षतिको विवरण स्थानीय प्रहरी मार्फत सङ्कलन गरिने जनाइएको छ । जिल्लामा सुनवल, बर्दघाट, प्रतापपुर, सुस्ता र पाल्हीनन्दनका जनप्रतिनिधिको घरमा आगजनी र तोडफोड भएको छ । उनीहरूले तत्काल दोषीलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

आगलागीबाट धेरै क्षति पुगेका रामग्राम र बर्दघाट नगरपालिकाले सेवा सुचारु गरेपनि प्रतापपुर गाउँपालिकाले अझै सेवाप्रवाह सुरु गर्न सकेको छैन । बाँकी सबै कार्यालयबाट हिजोबाट काम सुरु भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।