• ३ असोज २०८२, शुक्रबार

मर्स्याङ्दीले तोक्यो कृषि उपजको मूल्यसूची

blog

मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा लागेको कृषि हाटबजार । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, असोज १ गते ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । स्थानीय कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउन गाउँपालिकाले न्यूनतम समर्थन मूल्य तोकेको हो ।

गाउँपालिकोले जङ्गलमा पाइने निउरो, टुसादेखि नदीमा पाइने असला माछाको समेत मूल्य निर्धारण गरेको छ । पालिका भित्र उत्पादन हुने तरकारी, फलफूल, दुधदही, मासुसहित हस्तकलाका सामग्रीको समेत मूल्य तोकिएको छ । वडाअध्यक्ष घनश्याम घलेको संयोजकत्वमा रहेको आर्थिक विकास समितिले कृषि उपजको मूल्य निर्धारण गरेको हो ।

कृषिजन्य र हस्तकलाका सामग्रीको न्यूनतम र अधिकमतम बजार मूल्य निर्धारण गरिएको छ । कृषिजन्य उत्पादनतर्फ तरकारी र अन्नबाली गरी विभिन्न ९२ प्रकारका उत्पादनको मूल्य तोकिएको छ । जसमध्ये आलु प्रतिकेजी न्युनतम मूल्य ६० र अधिकतम  ८० रुपियाँ रहेको छ ।

त्यस्तै गोलभेडाको प्रतिकेजी ८० देखि एकसय, घिरौला प्रतिकेजी ४० देखि ५०, काँक्रो प्रतिकेजी ६० देखि ७० र लोकल काँक्रोको न्युनतम ८० र अधिकतम ९० रुपियाँ तोकिएको छ । सो बाहेक बोडी, करेला, फर्सी, गाँजर, साग, धनियाँ, निउरो, टुसा, तामा, हरियो खुर्सानी, अकबरे खुसार्नी, अदुवा, प्याज, लसुन लगायतका तराकारी बाली, फलफूलबाली, अन्नबालीको मूल्य निर्धारण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो ।

हस्तकलाका सामाग्रीतर्फ डोको, नाम्लो, राडी, बख्खु, धुन्से, नाङलो, ठेकी, हसिया, कुटो कोदालो, बन्चरो, दुना टपरी आदीको न्युनतम र अधिकतम मूल्य तोकिएको छ । जसमध्ये राडीको न्यूनतम पाँच हजारदेखि अधिकतम १० हजार मूल्य निर्धारण गरिएको छ भने बुख्खुको मूल्य पाँच हजारदेखि सात हजार पाँच सय रहेको छ । त्यस्तै दुना प्रति गोता तीन देखि पाँच रुपियाँ र टपरी ८ देखि १२ रुपियाँ तोकिएको छ ।

यसैगरी, खसीबोका, कुखुरा, हाँस, परेवा, माछा, बुङ्गुर, सुङ्गुरको पनि मुल्य निर्धारण गरिएको छ । १५ केजीसम्मको जिउँदो खसीबोकाको मूल्य छ सयदेखि छसय पचाससम्म, १५ देखि ४० केजीसम्म पाँच सयदेखि पाँच सय ५० सम्म मूल्य तोकिएको छ । जिउँदो भेडाको मूल्य ६ सयदेखि ६ सय पचास तोकिएको छ भने कुखुराको भालेको मूल्य आठ सयदेखि नौसय तोकिएको छ । असला माछाको मूल्य एक हजारदेखि बाह्रसय छ भने, ट्राउटको मूल्य एक  हजार चारसय पचासदेखि १५ सय तोकिएको छ ।

कृषि उपज विक्रीका लागि मर्स्याङ्दी गाउँपालिकामा प्रत्येक साताको आइतबार हाटबजार लाग्ने गरेको छ । यसअघि चाडपर्वलक्षित हाटबजार लाग्दै आएको थियो । हाटबजारमा बिक्री वितरणका राखिने स्थानीय उत्पादनको मूल्यमा एक रुपता ल्याउन मूल्यसूचि तयार पारिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका–३, खुदीस्थित गाउँपालिकाको कृषि सेवा केन्द्रमा गाउँपालिकाद्वारा गठित कृषि तथा पशु हाटबजार सञ्चालन समितिले हाटबजार सञ्चालन गर्नेछ । यस कार्यका लागि गाउँपालिकाले सहयोग गर्नेछ । कार्यपालिकाको निर्णय र कृषि तथा पशु हाटबजार कार्यविधि बनाएर हाटबजार सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष जुनामाया थापाले बताउनुभयो ।

हाटबजारमा खसीबोका, भेडा, लोकल कुखुरा, स्थानीय किसानले उत्पादन गरेका तरकारी, रैथाने बालिका परिकार, मह, अचार, मासु काट्ने अचानोलगायतका घरेलु उत्पादन बिक्री गरिनेछ । हस्तकला उपजतर्फ डोको, नाम्लो, दुनाटपरी, डोको, नाम्लोलगायतका वस्तुहरू राखिनेछ । कृषि उत्पादनतर्फ काउली, बन्दा, आलु, लसुन, गोलभेडा, काउली, डल्ले खुर्सानीलगायत राखिनेछ । खाद्यान्नतर्फ चामल, कागुनो, कोदो, मकैको पिठो, मास, दाललगायत राखिने हाटबजार सञ्चालन समितिका अध्यक्ष रवि थापाले बताउनुभयो । यस्तै, भीरमह, घरमहसमेत बिक्री गरिने उहाँले बताउनुभयो । कृषक आफैंले कृषि उत्पादन बिक्री गर्न सक्ने भएकाले कृषक र उपभोक्ता दुवैलाई सहज हुने उहाँले बताउनुभयो ।

स्थानीय कृषि उत्पादनलाई बढावा दिन र बाह्य क्षेत्रबाट कृषि उपजको आपूर्ति न्यूनीकरण गर्न नियमिति हाटबजारले टेवा पुगेको कृषि शाखा खुदीका प्रमुख विनोद दाहालले बताउनुभयो । उत्पादनलाई बजारीकरण गर्न र गाउँपालिकाका किसानलाई व्यवसायिक उत्पादनमा जोड्न नियमित रूपमा हाटबजार सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।