• ३ असोज २०८२, शुक्रबार

जुम्ला अझै दुध, मासु र अण्डामा परनिर्भर

blog

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्ला । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), असोज ३ गते ।
पशुपालनका हिसाबले जुम्ला प्रख्यात भए पनि दुध, मासु र अण्डामा अझै आत्मनिर्भर हुन सकेको छैन । सङ्ख्याका हिसाबले धेरै पशु भए पनि माथिका तीन वटै कुरामा जुम्ला आत्मनिर्भर हुन अझै केहि वर्ष लाग्ने देखिन्छ ।

सङ्ख्या हेर्दा गाईगोरु ६४ हजार सात सय ४७, राँगाभैँसि दुई हजार ८ सय ६४, खसि बोका र बाख्रा ४६ हजार तीन सय ६, भेडाभेडी ८४ हजार तीन सय ८८, बँगुर सुगुर एक हजार ८८, याक चौरी पाँच सय ८७, घोडा खच्चड एक हजार तीन सय ६०, खरायो दुई हजार पाँच सय ७९, हाँस पाँच हजार ८ सय ८८, कुखुरा ७१ हजार नौ सय ३ र माछा २० हजार रहेको तथ्याङ्कले देखाउ छ ।

यो तथ्याङ्क आर्थिक वर्ष २०८०/०८१ को हो । राष्ट्रिय मागका आधारमा प्रति व्यक्तिलाई एक वर्षमा ७० लिटर दुध आवश्यक पर्दछ । त्यसको ४.५ प्रतिशत मात्रै दुध पूर्ति छभने बाँकि ६५.५ प्रतिशत दुध अझै अपुग रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले बताउनुभयो ।

उहाँका अनुसार, राष्ट्रिय मागका आधारमा एक वर्षमा एक जना व्यक्तिलाई १२ केजी मासु आवश्यक पर्ने भए पनि अहिले नौ केजी मासु अपुग रहेको सुनाउनुभयो । तीन केजी मासु मात्रै पूर्ति भएको बुढथापाको भनाइ छ । उहाँले अण्डा एक वर्षमा प्रति व्यक्तिलाई ४५ वटा आवश्यक पर्दछ । तर, अहिले १३.१ प्रतिशत पूर्ति भएको छभने अझै ३१.९ प्रतिशत अपुग रहेको जानकारी गराउनुभयो ।

स्वस्थ मानिसका लागि आवश्यक पर्ने दुध, मासु र अण्डा अपुग रहेको उहाँको भनाइ छ । सन्तुलित खानाको अभावले पुढ्कोपन, कुपोषण र अन्य शारीरिक समस्या देखिने बुढथापाले बताउनु भयो । पशुपालनका लागि जुम्ला उच्च संभावना भएको जिल्लाका रुपमा चित्रण भए पनि बजारलाई थेक्न सक्ने उत्पादन वृद्धि हुन धेरै वर्ष कुर्नु पर्ने उहाँको भनाइ छ ।