अमृतप्रसाद पौडेल
म्याग्दी, असोज ३ गते । म्याग्दीमा भएको भाडादर निर्धारण समितिको बैठकले जिल्ला भित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकले तत्काल लागुहुने गरी भाडादर कायम गरेको हो । बेनी–जोमसोम सडकखण्डमा प्रति किलोमिटर प्रति यात्रु बसभाडा १० रुपियाँ, जीप भाडा १५ रुपियाँ तोकेको छ ।
त्यसैगरी बेनी–दरबाङ र बेनी–रत्नेचौर सडकखण्डमा बसमा प्रतिकिलोमिटर १० रुपियाँ र जीपमा प्रति किलोमिटर १५ रुपियाँ भाडा तोकिएको हो । जिल्ला भित्रका सबै ग्राभेल सडकमा प्रति किलोमिटर बसले १८ रुपियाँ र जिपभाडा २५ रुपियाँ लिन पाउने छन् ।
त्यसैगरी जिल्ला भित्रका सबै पक्की सडकमा यात्रुबाहक ट्याक्सीलाई प्रति यात्रु, प्रति किलोमिटर १७ रुपियाँ र कच्ची सडकमा प्रति किलोमिटर ३० रुपियाँ कायम भएको छ । तोकिएको प्रति किलोमिटर भाडादर बाहेक नगरपालिका र गाउँपालिका भित्र रहेका ग्रामीण सडकको पक्की, ढलान सडकमा यात्रुले प्रति किलोमिटर बसमा यात्रा गर्दा १४ रुपियाँ र जिप भाडा १८ रुपियाँभन्दा बढी लिन नपाइने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।
यात्रुले आफूले यात्रा गरेको किलोमिटरको आधारमा भाडा तिनुपर्ने पर्ने, याताया तव्यवसायीले अटेर गरेमा, क्षमताभन्दा बढी यात्रु बोकेमा कानुनी कारवाहीका लागि सिफारिस गरिने जनाइएको छ ।
यस अघि सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको संयोजकत्वमा भाडादर निर्धारण उपसमितिमा गठन भएको थियो । हालसम्म जिल्लामा दुई वर्ष अगाडि वि.स २०८० साल जेठ ५ गते तोकिएको भाडादरमा नै सवारीले सेवा दिइरहेका थिए ।