काठमाडौँ, असोज ३ गते । पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउँदै सुशासन र पारदर्शिता कायम गर्न तथा भ्रष्टाचार निवारण गर्न संविधानको पालना र कानुनको शासन अपरिहार्य रहेको बताउनुभएको छ । शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को शुभकामना दिनुहुँदै उहाँदै समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि सामाजिक–आर्थिक विकासलाई तीव्रता दिनु आवश्यक रहेको औंल्याउनुभयो ।
उहाँले, ‘‘राजनीतिक स्थिरताका लागि समाजमा अमनचयन, शान्ति र सुव्यवस्था कायम राख्दै आपसी सद्भाव र एकतालाई थप सुदृढ तुल्याउनु पर्ने हुन्छ । तसर्थ, आवेग, उत्तेजना र प्रतिशोधको भावनाभन्दा माथि उठेर राष्ट्रको सर्वोत्तम हितलाई ध्यानमा राखी यथार्थको धरातलमा उभिएर विवेकसम्मत ढङ्गले अगाडि बढ्नु हामी सबैको दायित्व हुन आउँछ । ’’ शुभकामना सन्देशमा उल्लेख छ ।
यसैगरी, संविधान दिवस मनाइरहँदा जननिर्वाचित ऐतिहासिक संविधानसभाबाट संविधान निर्माण गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्णायक भूमिका खेलेका राजनीतिक दलहरूले आफ्नो भूमिका र दायित्वलाई गम्भीरतापूर्वक समीक्षा गर्दै गन्तव्यतर्फ अग्रसर बन्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता, समानता जस्ता अवधारणालाई अङ्गीकार गरेको वर्तमान संविधानको रक्षा गर्न राजनीतिक दल, नागरिक समाज र आम जनता मिलेर अगाडि बढ्नु पर्दछ ।
लोकतान्त्रिक मूल्य र मान्यतालाई राज्यका अङ्ग तथा निकायमा मात्र नभई दलहरूको आन्तरिक प्रक्रियामा समेत गहिरोसँग आत्मसात् गर्नु पर्दछ । यसरी मात्र जनता र राजनीतिक दलका बीचमा नङ र मासु जस्तै मजबुत सम्बन्ध कायम रहनसक्ने उहाँको भनाइ छ ।
पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘देश हामी नेपाली सबैको साझा हो । आजका बालबालिका, नवयुवा र युवा पुस्तासँग लामो समय हुने भएकाले भविष्यमा देश हाँक्ने जिम्मेवारी उनीहरूकै हो । युवाहरूमा रहेको जाँगर, उर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो । युवाहरूको माग, दबाव र स्वाभाविक आक्रोशलाई भने सकारात्मक रूपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्नसक्नु सम्बद्ध सबैको दायित्व हो ।’’
यसैगरी, उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, संविधान दिवसको पूर्वसन्ध्यामा गत भदौ २३ गते नयाँ पुस्ताका युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग राखेर गरेको प्रदर्शनको क्रममा अमूल्य जीवन गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।