गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ३ गते । निजी क्षेत्रका प्रतिनिधि संस्थाले मर्यादित रूपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले गृहमन्त्री ओमप्रकाश आर्यालसँग गृह मन्त्रालयमा छुट्टाछुट्टै भेट गरी यस्तो आग्रह गरेका हुन् । उनीहरूले उद्यमी व्यवसायीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न सुझाव दिए ।
भेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेको भन्दै सरकारले सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कतिपय उद्यमी व्यवसायी प्रहरीका संरचना पुनर्निर्माणका लागि तयार रहेको बताउँदै अध्यक्ष ढकालले यसका लागि उद्योग वाणिज्य सङ्घमार्फत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
यसै गरी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही गर्न पनि मन्त्री अर्यालसमक्ष आग्रह गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यावसायिक वातावरणमा नकारात्मक असर पर्न गएको अग्रवालले बताउनुभयो ।
“मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठुलो योगदान रहेको छ तर विकसित पछिल्लो घटनाक्रमले व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ,” उहाँले भन्नुभयो । भेटमा गृहमन्त्री अर्यालले आमनागरिक तथा व्यवसायीको शान्तिसुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको महासङ्घले जनाएको छ ।
वर्तमान अवस्थामा सरोकारवाला गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क तथा सुरक्षा निकाय र निजी क्षेत्रबिच छिटोछरितो सूचना आदानप्रदानका लागि विशेष संयन्त्र बनाइनुपर्ने चेम्बरले उल्लेख गरेको छ ।
यस्तै आर्थिक सुरक्षासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत गृहमन्त्री अर्यालसमक्ष व्यक्त गरेको छ ।